यु१९ विश्वकप छनोटमा नेपालको दोस्रो जित, ‌‌१५ ओ‌भरमै रन चेज

यु१९ विश्वकप छनोटमा नेपालको दोस्रो जित, ‌‌१५ ओ‌भरमै रन चेज

काठमाडौं : आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि निरज कुमार यादवले ३१ बलमा पाँच चाैका र दुई छक्काको मद्दतमा सर्वाधिक ४६ रनको आक्रामक पारी खेले।

त्यसबाहेक साहिल पटेलले ४२ बलमा तीन चाैका र एक छक्काको मद्दतमा ४४ रन बनाएर आउट हुँदा कप्तान नरेन भट्ट र सन्तोष यादव अविजित रहँदै क्रमश: १२ र १० रन जोडे।

ओमानका सौम्य भाविन सम्पतले दुई विकेट लिए।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमान ३८ ओभरमा सबै विकेट गुमाएर ११७ रनमा समेटियो।

उसका लागि जित ब्रजेश शाहले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेल्दा सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिनेश हेमा रमेश १० रनमा आउट भए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि युवराज खत्रीले पाँच विकेट लिँदा सन्तोष यादवले दुई तथा अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले एक-एक विकेट लिए।

आजै भएको अर्को खेलमा अफगानिस्तानले हङकङलाई आठ विकेटले पराजित गर्यो।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई डिएल मेथडबाट पाँच रनले पराजित गरेको थियो। ४० ओभरको खेल भएकोमा वर्षा र खराब प्रकाशका कारण रोकिएको खेलमा नेपाल विजयी भयो।

पाँच टोली समावेश एसियान छनोटबाट एउटा टिमले मात्र विश्वकप खेल्नेछ।

वैशाख १, २०८२ सोमबार १३:५६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।