मितिमा मात्रै सीमित दशौं राष्ट्रिय खेलकुद : मन्त्रीले सचिवालय उद्घाटन गरे, परिषद्ले हात उठायो

सुर्खेत : कर्णालीमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक-पटक सरेको छ।
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई झण्डा हस्तान्तरण गरेर २०८१ मंसिर २ गतेदेखि ९ गतेसम्म हुने मिति तोकिएको थियो।
सो मितिमा आवश्यक पूर्वाधार तयार नभएको र तयारी पनि पूरा नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले चैत २३ देखि ३० गतेसम्म हुने भन्दै प्रतियोगिताको अर्को मिति तोकियो। तर, यो अवधिमा पनि प्रतियोगिता हुन सकेन।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले चैतमा प्रतियोगिता गर्न सम्भव नभएको भन्दै २०८२ जेठ ३ देखि १० गतेको मिति तोक्यो। तर, आफ्नै निर्णयमा दुई साता पनि टिक्न सकेन परिषद्।
चैत २८ गते खेलकुद परिषद्ले १२ बुँदे वस्तुगत अवस्थाको जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पत्र लेख्दै तोकिएको समयमा प्रतियोगिता गर्न नसक्ने जानकारी दियो।
अहिलेसम्म कुन खेल कहाँ-कहाँ सम्पन्न गर्ने टुंगो नलागेको, मुख्य प्रतियोगिता स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भैनसकेको, खेलाडी छनौटका विषयमा प्रदेशहरूबाट विवरण प्राप्त नभएको, खेल सामग्रीको टेण्डर नभएको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र लेख्यो।
यसका अलावा प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट बिनियोजित बजेटबाट विषयग रूपमा शिर्षक बाँडफाँड र एलएमविआईएस नभएको, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरूको संख्या निर्धारण नभएको अवस्था समेत परिषद्ले पत्रमार्फत मन्त्रालयलाई जानकारी गरायो।
मन्त्रीले सचिवालय उद्घाटन गरे, परिषद्ले हात उठायो
यस्तै अवस्थाले अब प्रतियोगिता यो आर्थिक वर्षमा गर्नसक्ने देखिएको छैन। प्रतियोगिताकै लागि भनेर मन्त्री तेजुलाल चौधरीले फागुन २५ गते सुर्खेतमा प्रतियोगिता सञ्चालक मूल आयोजक समितिको सचिवालय गठन गरी उद्घाटन गरेका थिए।
यति मात्र होइन, प्रतियोगिताको लोगो र मस्कट सार्वजनिकसँगै प्रतियोगिता तयारीका लागि विभिन्न ११ उपसमिति समेत बनाएका थिए उनले। तोकिएकै समयमा प्रतियोगिता हुने दाबी उनले गरे पनि अन्तिम समयमा आएर परिषद्ले हात उठायो।
प्रतियोगिताका लागि प्रदेशहरूबाट खेलाडीको विवरण उपलब्ध नहुनु, रंगशालाको केही कामहरू बाँकी रहेका कारण जेठमा प्रतियोगिता हुन नसक्ने परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले उकेरालाई बताइन्।
‘मुख्य कुरा त प्रतियोगिताका लागि प्रदेशबाट खेलाडीको विवरण नै आउन सकेको छैन। अर्को कुरा बाहिरबाट रंगशाला बनेपनि भित्रका मसिनो-मसिनो कामहरू निर्माण गर्दैछन्,’ उनले भनिन्, ‘अहिलेको अवस्था हेर्दा त्यहाँ १०-१२ ओटा गेमहरू मात्रै खेलाउन सकिने अवस्था आयो। समय तोक्दा पहिला नै हामीले सोच्नुपर्ने हो। जेठमा मौसम पनि अनुकुल भएन।’
उता कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी भने आयोजकले नै बारम्बार सारेपछि प्रतियोगिता हुन नसकेको बताउँछन्।
‘हामीले हाम्रो काम गरिरहेका छौं। रंगशाला पनि निर्माण भइसकेको छ। अन्य जिल्लामा समेत खेल पूर्वाधारहरू बनिसकेका छन्,’ मन्त्री भण्डारी भन्छन्, ‘आयोजक खेलकुद परिषद्ले नै बारम्बार प्रतियोगिता मिति सारेको सार्यै छ। प्रतियोगिता सफल बनाउन प्रदेश सरकार तयार छ। आयोजकले पनि चासो देखाउनुपर्यो नि!’
खेलाडीको मनोबलको के मतलब?
समयमा प्रतियोगिता नहुँदा खेलाडीको मनोबल घट्नुका साथै कर्णालीको खेल क्षेत्र पछाडि परेको कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठको भनाइ छ।
‘राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि महत्वपूर्ण अवसर हो। यही प्रतियोगिताकै कारण खेलकुद पूर्वाधारहरू बनेका छन्,’ उनले भने, ‘तर समयमै प्रतियोगिता नहुँदा कर्णालीको खेल क्षेत्रमा नकरात्मक असर पर्छ।’
हरेक दुई-दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने व्यवस्था भएपनि विगतदेखि नै ढिलो गर्ने प्रवृत्तिका कारण खेल क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको उनको भनाइ छ।
सुर्खेत रंगशालाको अझै एक प्रतिशत काम बाँकी
प्रदेश सरकारले सुर्खेत रंगशालाको निर्माण सम्पन्न भइसकेको दाबी गरे पनि अझै एक प्रतिशत काम बाँकी नै रहेको पाइएको छ। ०७८ मंसिर २० मा शिलान्यास गरिएको रंगशाला निर्माणका लागि ‘एमएसिजिएसएल जोइन्ट भेन्चर’ ठेक्का पाएको थियो।
सम्झौतामा ०८१ वैशाख ११ भित्र आयोजना सम्पन्न गर्ने उल्लेख भए पनि काम सकिएन। त्यसपछि पहिलो पटक असोजसम्म र दोस्रोपटक माघसम्म म्याद थप गरिएको थियो। तर २०८२ साल लाग्दा समेत रंगशाला निर्माणको काम भएको छैन।
कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रदेशभर २४ वटासम्म खेल खेलाउने तयारी गरेको थियो। त्यसमध्ये १२ वटा खेल रंगशलामै हुनेछ। तर रंगशालाको काम अहिलेसम्म हुन सकेको छैन। अन्य १२ खेल भने सुर्खेतका अन्य स्थान, हुम्ला, मुगु, कालिकोट, दैलेख र रुकुम पश्चिममा हुने बताइएको थियो।
पदाधिकारीविहीन प्रदेश परिषद्
दशौं राष्ट्रिय खेलकुदको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् हो। कर्णाली सरकार त्यसको सह-आयोजक रहेको छ। प्रदेश सरकारको राजनीतिक खिचातानीका कारण अहिले प्रदेश खेलकुद विकास परिषद् पदाधिकारीविहिन छ। उपाध्यक्ष र सदस्य-सचिव नियुक्तिमा सत्ता साझेदार दल अल्झिएका छन्।
०७७ पुस ६ गते नियुक्त भएका कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य-सचिव विश्वमित्र सञ्ज्यालको चार वर्षे पदावधि सकिएपछि ०८१ पुस ६ मा उनीहरू बिदा भए।
पुस २६ गते सामाजिक विकास मन्त्रालयले मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको रूपमा दैनिक कामकाज गर्ने जिम्मा दिइएको थियो। तर, परिषद्बाट हुने दैनिक कार्यसम्पादनले गति लिन सकेको छैन। पदावधि सकिएको साढे तीन महिनासम्म पनि सरकारले परिषद्लाई पूर्णता दिन सकेको छैन।
मन्त्रालयले परिषद् पदाधिकारीविहीन भएको अवस्थामा प्रदेशको खेलकुद विकास ऐन, २०७६ विपरीत मन्त्रालयका शिक्षा अधिकृत उपाध्यायलाई तोकेको भन्दै आलोचना भएको छ। ऐनमा सामाजिक विकास मन्त्रीले परिषद्को सदस्य-सचिवलाई बैठक बोलाउन निर्देशन दिने र बैठकको अध्यक्षता ग्रहण गर्ने बाहेकको कुनै पनि जिम्मेवारी दिएको छैन।
सुरूमा परिषदको उपाध्यक्ष र सदस्य-सचिवमा एमाले र माओवादी केन्द्रबीच भागवण्डा भएको थियो। हाल एमाले-कांग्रेसबीच उपाध्यक्ष र सदस्य-सचिव कसले लिने भन्ने विषयमा कुरा नमिल्दा परिषदले पूर्णता पाउन सकेको छैन।
वैशाख १, २०८२ सोमबार ११:५९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।