झोलामा ६० लाख बोकेर जग्गा बैना गर्न जाँदा लुटपाट, १८ जना पक्राउ, पीडितको रकमको स्रोत पनि छानबिनमा

काठमाडौं : काठमाडौं महानगरपालिका–३२ मनोहरा जडीबुटी टाउनप्लानिङबाट ६० लाख रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लियो। लुटपाटको आरोपमा २० जना पक्राउ परेकोमा २ जना संलग्न नरहेको भन्दै छाडेको प्रहरीले १८ जनालाई भने म्याद थप गरेको थियो।
पीडित बौद्ध निवासी ४२ वर्षीय रितेश लामाका अनुसार गत चैत २७ गते राति करिब ९ बजे जग्गा बैना गर्न भनेर बोलाएपछि उनले कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर जडीबुटी टाउन प्लानिङ पुगेका थिए। जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८-९ जनाको समूह आएर गाडीमा रहेको रकम लुटेर फरार भएको थियो।
म्याद थप भएकाहरूमा काठमाडौं लोलाङका २३ वर्षीय राज पराजुली, रामेछापका २३ वर्षीय प्रभास केसी भन्ने हरिराम खत्री, २० वर्षीय राजेश भण्डारी, २८ वर्षीय सार्की माझी लगायत रहेका छन्। साथै उत्तम मगर, राजु मगर, टिकाबहादुर मगर, रमेश बहादुर मगर, लवबहादुर मगर, रूपक थापा मगर र सागर मगर पनि म्याद थपको दायरामा परेका छन्।
अन्य पक्राउ परेकाहरूमा काठमाडौं लोलाङका सुयोज लामा, सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेका रञ्जित लामा, दावा लामा, बाबु तामाङ, सुजन लामा र सिन्धुपाल्चोकका रिबेल कुमार तामाङ रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूबाट ३० लाख रुपैयाँ बरामद गरिसकेको र एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुष्ट भेटिएको जनाएको छ। बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन्।
घटनाका पीडित लामाले सुरुमा ६० लाख लुटिएको बताए पनि पछि हिसाब गर्दा ७६ लाख रुपैयाँ रहेको दाबी गरेको प्रहरीले बताएको छ। यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबारे समेत प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ।
चैत ३१, २०८१ आइतबार २०:४१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।