वीरगन्ज घटनामा धार्मिक विद्यालय र मदरसाको अनुगमन, छानबिन र कारबाहीमा स्थानीय प्रशासन सहमत, पाँच बुँदे सहमति

वीरगन्ज घटनामा धार्मिक विद्यालय र मदरसाको अनुगमन, छानबिन र कारबाहीमा स्थानीय प्रशासन सहमत, पाँच बुँदे सहमति

वीरगन्ज : वीरगन्जमा दुई समुदायबीच भएको झडपको घटना अनुसन्धान गरेर घटनामा संलग्नमाथि कारबाही गर्न स्थानीय प्रशासन राजी भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ।

शनिवार अपराह्न विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगन्ज महानगरपालिका–२ स्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो।

अवस्था तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। झडपका क्रममा एक थान मोटरसाइकल र एउटा फ्रिजमा आगजनी भएको तथा ८ जना प्रहरी घाइते भएका थिए।

आइतबार बसेको सर्वपक्षीय बैठकमा घटनामा संलग्नमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासन सहमत भएपछि दुबैपक्षबीच सहमति भएको हो। सहमतिमा अन्तरधार्मिक र साम्प्रदायिक सद्भाव तथा सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने प्रतिबद्धता जनाइएको छ।

सहमतिमा घटनामा घाइते भएका व्यक्तिहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय समेत भएको छ।

सहमति पत्रमा धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा वा पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने र उल्लङ्घन गरेमा कारबाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको छ।

पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक सङ्घ/संस्था तथा ती संस्थाहरूबाट सञ्चालित विद्यालय/मदरसा आदिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने समेत निर्णय भएको छ।

चैत ३१, २०८१ आइतबार २०:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।