निरंकुश ज्ञानेन्द्रको प्रजातान्त्रिक बोली : राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी, नागरिक स्वतन्त्रता स्वीकार

काठमाडौं : बहुदलीय व्यवस्था मासेर सक्रिय शासक हुने मुर्खता गर्दा राजसंस्था नै गुमाउन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले राज्यशक्तीको स्रोत जनता हुन् भन्ने मञ्जुरी रहेको बताए। २०५८ मा अकल्पनिय दरबार हत्याकाण्ड भएसँगै सिंहासनमा फर्किएका उनले बहुदलीय प्रजातन्त्र र नागरिक अधिकारमाथि हमला गर्दै आफ्नै अध्यक्षतामा सक्रिय शासन शुरु गरेका थिए।
दलका नेताहरुलाई पक्राउ गरेर हिरासतमा राख्ने, निर्वाचित सरकार बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गरेर शासन सत्ता चलाउने, नागरिक हकमाथि हमला गर्दै सञ्चारका साधन बन्द गराउनेदेखि प्रेस तथा अभिव्यक्ती स्वतन्त्रतामा हमला गर्दै समाचार कक्षमा सैनिक पठाएर सेन्सर गराउनेसम्मका हर्कत गरेका उनले २०८२ को नयाँ वर्षको सम्बोधनमा नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद नहुने स्विकारेर आफू बदलिएको सन्देश दिने प्रयास गरे।
उनले ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ’ भन्दै आफ्नो शासनकालमा भएका गतिविधीहरु वास्तविक प्रजातन्त्र नभएको स्विकार गरेका छन्। उनले सम्बोधनमा आफू संवैधानिक राजाको रुपमा बस्न तयार रहेको सन्देशमा उल्लेख गरे। उनले सम्बोधनमा बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा आस्था व्यक्त गरेका थिए।
खारेज भएको राजतन्त्र फर्काउन भन्दै चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे समेत उनले बोले। उनले तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड र त्यसबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुख व्यक्त गरे।
नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता पैदा भएकोमा त्यसलाई सकारात्मक रूपमा लिएको र नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुकरणीय रहेको भन्दै देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको र ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको बताए।
‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्याउँदै आएको विदितै छ,’ उनको सम्बोधनमा उल्लेख छ ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ।’
उनको सम्बोधनको मुख्य बुँदा
१. वर्तमान परिस्थितिको समीक्षा
-प्रजातन्त्रको सारतत्व: विभिन्न दल, वर्ग र समुदायले आफ्नो धारणा, आस्था र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता।
-हिंसात्मक घटनाप्रति दुःख: हालैका जनप्रदर्शनमा भएको हिंसा, आगजनी र तोडफोडबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त।
-नागरिक स्वतन्त्रताको महत्त्व: नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र वा वाद नहुने विचार प्रस्तुत।
-जनजागरणको सकारात्मक मूल्याङ्कन: नेपाली जनतामा देश र भविष्यलाई लिएर जागृत भएको जागरूकतालाई सकारात्मक रूपमा लिएको।
२. राजनीतिक दृष्टिकोण
-नेपालीको देशभक्ति: नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुकरणीय रहेको।
-राजसंस्थाको भूमिका: मुलुकमा व्याप्त अशान्ति, अराजकता र निराशाबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले योगदान पुर्याउँदै आएको उल्लेख।
-संवैधानिक मूल्य: बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा आस्था प्रकट।
-राज्यशक्तिको स्रोत: वर्तमानमा बदलिँदो जनचाहनाको कदर गर्दै राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने स्वीकार।
३. आर्थिक सुधारका प्राथमिकताहरू
-विश्व परिवेशको विश्लेषण: विश्वव्यापीकरण, स्वतन्त्र व्यापार र आर्थिक मन्दीको सन्दर्भमा नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने।
-स्वदेशी अर्थचक्र: स्वदेशी स्रोत साधनको प्रयोग, स्वदेशी उत्पादन र स्वदेशी खपतबाट आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता।
-युवा पलायन नियन्त्रण: बढ्दो युवा पलायनलाई रोकेर उनीहरूको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्नुपर्ने जोड।
-स्वरोजगारको अवसर: युवाहरूलाई स्वदेशमै आयआर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने उल्लेख।
४. राष्ट्रिय एकताको सन्देश
-विश्वभर छरिएका नेपालीहरूको एकता: विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्नुपर्ने आह्वान।
-'स्वदेश फर्क' अभियान: स्वदेश फर्क, स्वदेशमा श्रम स्वर्ग भन्ने अभियान चलाउनुपर्ने जोड।
-विदेशी ज्ञान र पुँजीको उपयोग: विदेशमा आर्जित ज्ञान, सीप, सामर्थ्य र पुँजी नेपालमै लगाउनुपर्ने आह्वान।
-देशको सिँगार र विकास: प्रकृतिले दिएको सुन्दर हिमवत् खण्ड नेपाललाई सिँगार्न र विकासको बिगुल फुक्न सबै नेपालीहरूलाई आह्वान।
५.सुधारको आव्हान
-संरचनागत हेरफेर: जनभावना र जनचाहना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने आवश्यकता।
-आधारभूत क्षेत्रको परिवर्तन: शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमूल परिवर्तन र सुधारको आवश्यकता।
-प्रविधिको उचित प्रयोग: युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्दा राष्ट्र निर्माणमा ठूलो टेवा पुग्ने कुरामा जोड।
-सुशासनको प्रवर्द्धन: सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने प्रस्ताव।
६. समस्या र चुनौतीहरू
-राष्ट्रिय समस्याहरू: अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहेको अभिव्यक्ति।
-आर्थिक चुनौतीहरू: रुग्ण औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारीप्रति चिन्ता।
-राष्ट्रिय एकताका चुनौती: रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म र संस्कृतिप्रति चिन्ता व्यक्त।
-जनस्तरीय समस्याहरू: जनस्तरमा बढेको निराशा, असन्तुष्टि, नागरिक पलायन, पुँजी पलायन र भ्रष्टाचारको बढ्दो प्रवृत्तिप्रति चिन्ता।
७. अन्तिम आह्वान
-ध्रुवीकरण विरुद्ध सचेतना : नेपालीहरू कुनै पनि नाम र निहुँमा ध्रुवीकृत नहुन् भन्ने चाहना।
-एकताको महत्त्व : नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई आत्मसात् गर्न आह्वान।
-सामूहिक हित : व्यक्तिगत स्वार्थ नभई समग्र राष्ट्रको स्वाधीनता, जनताको सार्वभौमता र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति आह्वान।
-समस्या समाधानको मार्ग : हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्ने विश्वास।
-नयाँ वर्षको सन्देश : आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने र बन्न सक्ने विश्वास व्यक्त।
चैत ३१, २०८१ आइतबार २०:०२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।