उद्यमी सुनिताको प्रसव पीडा र खुसी : प्रसवको समयमा श्रीमान् ढोकाबाट टुलुटुलु हेरिरहेको सम्झँदा अहिले पनि कटक्क हुन्छ

सुनिता वैद्य श्रेष्ठ साढे तीन दशकदेखि उद्यम गरिरहेकी छन्। काठमाडौंमा तेल उद्योग चलाएका उनको बुवाबाटै उद्यम गर्न प्रेरित भएकी उनी घरमा सात सन्तानमध्ये जेठी हुन्।
महिला उद्यमी महासंघ नेपालको द्वितीय उपाध्यक्ष समेत रहेकी उनले अहिले तीन उद्यमको नेतृत्व गरिरहेकी छन्। नेपालमा ‘क्यान्डल एण्ड क्राफ्ट’ को सुरुवात समेत गरेकी उनको आफ्नै बुटिक पनि छ।
अचार व्यवसाय उद्यम थालेकी सुनिताले त्यसमा धेरै व्यवसायी जोडिएपछि व्यवसाय नै छोडिन्। कोभिडपछि ‘प्रकृति नेपाल’ भनेर कृषि उत्पादनको व्यापार थालेकी उनी अहिले भने २७ वर्ष अघिदेखि उत्पादन गर्दै आएको सजावटका मैनबत्तीको व्यवसायमा छिन्।
सानोमा छ जना भाइबहिनी हुर्काएकी उनी एक सन्तानकी आमा समेत हुन्। अहिले उनको छोरीले समेत अष्ट्रेलियाबाट स्नातक सकेर परिवारको व्यवसायमा साथ दिइरहेकी छन्। उनै सुनिताले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्ना प्रसव अनुभव यसरी साटिन्:
०००
ड्याडी नभएपछि हाम्रो तेलको फ्याक्ट्री ममीले चलाउनुभएको थियो। तर सात जना सन्तान र फ्याक्ट्री चलाउन उहाँलाई सहज थिएन। म काठमाडौंकै नरदेवीमा जन्मिएको हुँ। पछि बागबजारमा हुर्किएँ। दिदीबहिनी चारजना र भाइहरू तीन जना छन्। सबैभन्दा जेठो सन्तान हुनु भनेको भाइबहिनीको अभिभावक हुनु पनि रहेछ। ड्याडी बित्नु हुँदा म पढ्दै थिएँ।
ड्याडीले सधैँ ‘पहिले आफ्नो खुट्टामा उभिनु अनि मात्र बिहे गर्नु’ भन्नुहुन्थ्यो। त्यहि अनुसार म अगाडी बढेँ र सफल पनि भएँ जस्तो लाग्छ। मागी विवाह भए पनि मेरो श्रीमान् मेरै क्लासमेट हुनुहुँदो रहेछ। त्यो बेलामा त स्कुलमा केटासँग बोल्नु भनेको लाजको विषय हुन्थ्यो नि! मलाई त थाहा पनि थिएन। पछि भेट भएपछि सबले स्कुलकै साथी हो भन्दा दङ्ग परेका थियौँ।
साथीहरूले अहिले पनि बेलाबेला ‘यिनीहरुको पहिलादेखि नै केही चलिरहेको थियो होला’ भनेर जिस्काउँछन्। एसएलसी सकिनेबित्तिकै विवाह हुने समयमा स्नातकोत्तर सक्दा त सबैले ‘बिहे कहिले?’ भनेर हैरान पार्थे। ३२ वर्षको उमेरमा बिहे गरे पनि राम्रो श्रीमान् पाएकोमा खुसी छु म। सधैँ मैले ढिला होस् राम्रो होस् भन्ने सोच्थे। त्यहि नै भयो।
संयोगले श्रीमान् पनि एकदम बुझ्ने र सहयोगी(साथ) दिने पाएँ। हाम्रो एक जना सन्तान पनि छ। बिहे गरेको डेढ वर्षपछि हाम्रो छोरी भएको हो। उमेरको हिसाबले पनि निकै परिपक्व भएपछि मात्र विवाह गरेको हामीले अगाडि नै एउटा मात्र सन्तान जन्माउने, राम्रोसँग हुर्काउने भनेर योजना बनाइसकेका थियौँ।
बिहे भएको डेढ वर्षपछि सन्तान हुँदा पनि सबले किन ढिला गरेको भन्थे। सासुले पनि ‘चाँडो बच्चा पाउ’ भन्नुहुन्थ्यो। अनि हामीले योजना अनुसारै गर्भ रह्यो। हामीले त यो महिनामा जन्म दिने भन्नेसम्म योजना बनाएका थियौं। सुरूमा कुनै हालतमा पनि स्थायी साधन प्रयोग गर्नुहुँदैन भन्नेमा म ढुक्क थिएँ। त्यै भएर पनि होला ठ्याक्क भनेकै जसरी गर्भ रह्यो। म र श्रीमान त खुसी हुने भइ नै हाल्यौँ। सासु पनि निकै उत्साहित हुनुभयो।
गर्भावस्थामा मेरो तौल खासै बढेन। नानी जन्मिएको छ महिनासम्म पनि मेरो तौल जम्मा ५० केजी मात्र थियो। मेरो गर्भावस्थाको नौ महिना निकै रमाइलो भयो। अहिले सम्झ्यो भने पनि ती दिनहरू रमाइलो लाग्छ। सबले माया गर्नुहुन्थ्यो।
सासुले त मीठो-मीठो पकाएर खान दिनुहुन्थ्यो। श्रीमानले पनि त्यो बेलामा मलाई निकै माया गर्नुभएको याद छ। एक त त्यो बेला चौबिसै घण्टा श्रीमान् आफ्नै साथमा भइरहे हुन्थ्यो भन्ने लाग्थ्यो। अनि श्रीमानले एकछिन पनि छोड्नु हुन्थेन।
शारीरिक रूपमा हल्का पेट बढ्नुबाहेक अरु केहि पनि भएको मलाई याद छैन। कमजोरी हुने, सुन्निने पनि भएन। सुरूमा वान्ता भयो। खाना पनि रुचेन। त्यसबाहेक सबै सहजै भयो। दूध र आलु भुटेको अलि-अलि खान्थे। अनि सबैभन्दा रमाइलो भनेको चैँ हामीले त्यो बेला खुब घुम्यौँ।
धेरै टाढा त हैन, नजिकै आसपासको क्षेत्र कुनै बाँकी राखेनौँ। त्यस्तो बेला घुम्नुपर्छ। राम्रो ठाउँ हेर्नुपर्छ भन्ने गरिन्थ्यो नि! काम बहिनीको जिम्मामा छोडेपछि तनाव पनि भएन। आफैँले आफैँलाई पनि समय दिन पाएँ। महिना-महिनामा चेक अप पनि गर्न गइराख्थ्यौँ।
त्यसबेला हामीले अगाडि नै जन्म दिनेबेला नै प्राइभेटमा नजाने पाटन हस्पिटलमै जाने भनेर निर्णय गरेका थियौँ। प्राइभेटमा खासै सामानहरू पनि हुँदैन भन्थे त्यसबेला। फागुनको पहिलो साता मेरो डेलिभरीको समय भयो। तर, मलाई व्यथाको कुनै पनि लक्षण देखिएन।
अनि हस्पिटलमा जाँदा ‘भर्ना हुनु फागुन २ गते जन्माउने’ भनेर डाक्टरले सल्लाह दिएपछि एक गते नै हामी हस्पिटल भर्ना भयौँ। हस्पिटलमा जाँदा पनि मलाई केही अप्ठ्यारो, गाह्रो भएन। दुई गते बिहान मलाई व्यथा लाग्ने औषधि दिइयो। औषधि दिएको सुरूमा त केही भएको थिएन। पछि चैँ निकै दुख्दै गयो। साँझतिर त नर्मल नै छोरीलाई जन्म दिएँ।
सरकारी अस्पतालमा प्राइभेट रूम नदिने रहेछ। जनरल वार्डमै अरु सुत्केरी हुन लागेको ठाउँमा मलाई राखियो। श्रीमानलाई चैँ भित्र जान दिनुभएन। भित्र सबै छोरी मान्छेहरूनै भए पनि मलाई त निकै लाज लागेको थियो। श्रीमान् त्यसबेला पनि म सँगै रहोस् भन्ने लागिरह्यो। त्यसबेला उहाँको कमी महसुस गरेँ। श्रीमान् ढोकाबाट कस्तो माया लाग्दो गरेर हेरेर बसिरहनु भएको थियो। अहिले पनि उहाँको त्यो अनुहार सम्झ्यो भने निकै माया लाग्छ।
छोरी जन्मिसकेपछि एकदम हल्का महसुस भयो। बच्चा च्यापिन्छ, भनेर म निकै शतर्क भएकी थिएँ। पछि चिटिक्क परेको सानो नानी आफ्नो काखमा देख्दा त सबै घाउ आफैँ निको भएको जस्तो लाग्यो। सब जना खुसी हुनुभएको थियो। हामीले छोरी नै होस् भनेका थियौँ भयो पनि त्यही। एकदम खुसी थियौँ हामी।
छोरी देख्दा सबै इच्छा पूरा भएको जस्तो लागेको थियो। नानी फेरि एकदम मायालु, चिटिक्क परेकी र स्वस्थ थिई। १४ फेब्रुअरी भ्यालेन्टाइनको दिनमा जन्मिएकी हुन् उनी। मैले श्रीमानलाई भ्यालेन्टाइन डेको गिफ्ट यही हो भनेर समाउन दिएकी थिएँ।
स्तनपानमा पनि मलाई केही समस्या भएन। सुत्केरी भनेर सबले हेर्न आउनुहुन्थ्यो। सानो र राम्रो कपडाहरू लिएर भेट्न आउँथ्यो। छोरी भएपछि घर नै झिलिमिली भयो। छोरीलाई पछि मैले काममा पनि सँगै लगेर जान्थे। अरूको अफिसमा काम गरेको भए गाह्रो हुन्थ्यो होला। आफ्नै भएपछि त सहज भैहाल्यो नि!
सबले एउटा छोरा पनि हुनुपर्छ भन्थे। मलाई चैँ एक जना सन्तान भए पुग्छ भन्ने भयो। अनि श्रीमानले पनि एउटामै हुन्छ भने पछि अरु केहि पनि सोचेनौँ।
छोरी भर्खर मात्र अष्ट्रेलियाबाट स्नातक सकेर आएकी छन्। उसले आफ्नो बुवाको बिजनेसमा सघाउन थालिसकिन्। उनले हाम्रो काम अनि हामीलाई बुझ्छिन्, खुसी हुनका लागि हामीलाई त्यो भन्दा बढी के चाहियो र!
त्यसबेला धुलिखेल माउन्टेन रिसोर्ट नेपालको पर्यटन क्षेत्रमा अग्रगामी पहलको रुपमा स्थापना गर्ने मेरो ससुरा हुनुहुन्थ्यो। यसलाई निरन्तरता दिँदै मेरो श्रीमानले ११ वर्षअघि ‘प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म’ सुरू गर्नुभयो। अहिले छोरीले पनि यही व्यवसायको जिम्मेवारी सम्हालेकी छन्।
उसको बुवा पनि अहिले निकै खुसी हुनुभएको छ। उसको हजुरबाले, उसको बुवालाई छोडेर काम अहिले छोरीले सम्हाल्न थालिसकिन्। छोरीलाई हेर्दा अहिले हामीले निकै सफल भएको महसुश गरेका छौँ। उसलाई सधैँ साथ दिइरहन पाउँ, त्यत्ति हो।
चैत ३१, २०८१ आइतबार १४:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।