हेटौंडा र उदयपुर सिमेन्ट उद्योग गाभेर निजी क्षेत्रलाई शेयर बेच्न सुझाव, नेपाल एयरलाइन्सको व्यवस्थापन विदेशीलाई दिनु

हेटौंडा र उदयपुर सिमेन्ट उद्योग गाभेर निजी क्षेत्रलाई शेयर बेच्न सुझाव, नेपाल एयरलाइन्सको व्यवस्थापन विदेशीलाई दिनु

काठमाडौं : उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगलाई मर्ज गरी निजी क्षेत्रलाई शेयर बिक्री गर्न सुझाव दिएको छ।

आयोगले दुई सिमेन्ट उद्योग डीडीए गरेर गाभ्न अनि सरकारको केही हिस्सामात्र राखेर निजी क्षेत्रलाई शेयर बिक्री गर्न सुझाव दिएको हो। यस्तै‌ उसले सार्वजनिक संस्थानहरू सबैको लेखा परीक्षण समयमा सम्पन्न गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ।

यसको अलावा सञ्चालनमा आउन नसकेका सार्वजनिक संस्थानहरू जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ्ग कन्सलटेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रकशन कम्पनी नेपाल, र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालिलाई खारेज गरी तिनको नाममा रहेको अचल सम्पत्ति सरकारको नाम ल्याइ व्यवस्थापन गर्न पनि भनेको छ।

साथै आयोगले नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी वाह्य रणनीतिक साझेदार भित्र्याएर व्यावसायिक ढंगले व्यवस्थापन गर्न र यस्ता संस्थाहरूलाई व्यावसायिक बनाउन केही समयको लागि विदेशी व्यवस्थापनलाई दिनु पनि उपयुक्त बताएको छ।

दुग्ध विकास संस्थानलाई सात प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानको रुपमा परिणत गर्ने र घाटामा रहने गरेका सार्वजनिक संस्थानहरू वर्तमान समयमा आवश्यक नभए खारेज गर्न समेत आयोगको सुझाव छ।

आयोगले सार्वजनिक संस्थानलाई राजनैतिक हस्तक्षेपमुक्त राख्नका लागि विद्यमान कम्पनी ऐनमा सरकारको एकल स्वामित्वमा पब्लिक लिमिटेड कम्पनीको रूपमा होल्डिंग कम्पनी रहन सक्ने व्यवस्था गरी पूर्ण सरकारी स्वामित्वको होल्डिंग कम्पनी अन्तर्गत सबै संस्थानलाई ल्याउने र मन्त्रालयहरू अन्तर्गत संस्थानलाई नराख्न पनि सुझाव दिएको छ।

नेपाल सरकारको मिति २०८१ असोज २१ को निर्णयानुसार गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले २०८१ मङ्सिर २४ गते तत्काल गर्नुपर्ने सुधारहरू समेटेर अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको थियो।

सुरुमा पाँच सदस्यीय आयोग रहेकोमा नेपाल सरकारको २०८१ मङ्सिर ६ को निर्णयबमोजिम नेपालको निजी क्षेत्रका प्रतिनिधिमुलक सर्वोच्च संस्थाहरूका अध्यक्षहरू आयोगको सदस्यका रूपमा थप भएका थिए।

पूर्वसचिव रामेश्वर खनालको अध्यक्षतामा बनेको आयोगको सचिवमा महेश्वर आचार्य तथा सदस्यहरूमा राजेश अग्रवाल, कमलेशकुमार अग्रवाल, चन्द्रप्रसाद ढकाल, डा. कल्पना खनाल, डा. विश्वास गौचन, प्रा.डा. रामप्रसाद ज्ञवाली र डा. प्रकाशकुमार श्रेष्ठ छन्।

चैत २९, २०८१ शुक्रबार १४:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।