विमानमा राख्नुअघि प्रसाईंले भने- ‘यो तस्करविरुद्धको लडाईं हो हैन, आफैँ पक्राउ देको है फेरि’

विमानमा राख्नुअघि प्रसाईंले भने- ‘यो तस्करविरुद्धको लडाईं हो हैन, आफैँ पक्राउ देको है फेरि’

काठमाडौं : चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक भएपछि गायब भएका दुर्गा प्रसाईंले प्रहरीलाई आफैँ पक्राउ दिएको दाबी गरे। शुक्रबार विहान असमको बक्साबाट भद्रपुर ल्याइएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउने क्रममा भद्रपुरको चन्द्रगढी विमानस्थलमा उनले यस्तो बताएका हुन्।

चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मी देखेपछि उनले भने, ‘यो तस्करविरुद्धको लडाईं हो, हैन, आफैँ पक्राउ देको है फेरि।’

बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याइँदैछ। प्लेनमा चढाउनुअघि उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो।

भारतीय प्रहरी भद्रपुर नाकासम्म ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो। चैत १५ गते हिंसात्मक प्रदर्शन भएपछि उनी भागेर भारत–भुटान सीमानजिक असमको बक्सा भन्ने स्थानमा पुगेका थिए। प्रहरीले खोजी सुरु गरेपछि उनी केही सहयोगीसहित स्थलमार्गबाटै काँकडभिट्टा पुगेर त्यताबाट बक्सामा पुगेको थियो।

असमको सुरक्षाकर्मीले उनलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रसाईंले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्न सहयोगीको मोबाइल प्रयोग गरेका थिए।

त्यसैको लोकेसनको आधारमा उनी रहेको स्थानको पहिचान भएपछि नेपाल प्रहरीको टोली दुर्गालाई नेपाल ल्याउन समन्वय गर्न असम गएको थियो।

नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाईंलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरेका थिए।

राति नै प्रसाईं पक्राउ परेको समाचार आए पनि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको थियो। यद्यपि अहिले भने नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरेका छन्।

आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो। निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि सँगै छन्।’

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए। सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।

चैत २९, २०८१ शुक्रबार १२:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।