प्रहरीले स्वीकार्‍यो : दुर्गा समातिए तर ‘भद्रपुर’मा

प्रहरीले स्वीकार्‍यो : दुर्गा समातिए तर ‘भद्रपुर’मा

काठमाडौं : बिहीबार दिउँसो आसामको बक्सामा दुर्गा प्रसाईंलाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएर नेपाल प्रहरीको टिमलाई बुझाएको घटना अस्वीकार गरेको प्रहरीले शुक्रवार उनी र उनको बडीगार्ड झापाको भद्रपुरमा पक्राउ परेको दाबी गरेको छ।

बिहीबार विज्ञप्ति निकालेर प्रहरीले प्रसाईँको घटना अस्वीकार गरेको थियो।

शुक्रवार बिहान आसामको बक्साबाट काँकडभिट्टा ल्याएर नेपाली सुरक्षाकर्मीले औपचारिक रूपमा प्रसाईंलाई बुझेपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर प्रसाईं पक्राउ स्वीकार गरेको हो।

प्रहरी प्रवक्ता दिनेश आचार्यले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रसाईं भद्रपुरमा उनको बडीगार्ड दीपक खड्कासहित पक्राउ परेको उल्लेख छ। चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक भएसँगै उनी फरार थिए।

तीनकुनेबाट भागेका उनी भारतको आसामको बक्सा पुगेका थिए। उनी त्यहाँ पाठक थरका एक स्थानीयको घरमा बसेका थिए।

तीनकुने प्रदर्शनमा दुई जनाको ज्यान गएसँगै अर्बौको निजी र सरकारी सम्पत्तिमा क्षति पुगेपछि राज्य विरुद्धको अपराध र संगठित अपराध लगायतको आरोपमा प्रहरी प्रसाईँको खोजीमा थियो।

चैत २९, २०८१ शुक्रबार १२:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।