२ सय ४४ वर्ष पुरानो मठा फल्चा पुनः निर्माणको लागि शिलान्यास

२ सय ४४ वर्ष पुरानो मठा फल्चा पुनः निर्माणको लागि शिलान्यास

 काठमाडौं : २ सय ४४ वर्ष पुरानो मठा फल्चा पुनः निर्माणको लागि शिलान्यास गरिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८ ग्वल क्षेत्रमा रहेको ऐतिहासिक फल्चाको पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा- ८ का वडाध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन्। 

शिलान्यास पछि बोल्दै उनले २ सय ४४ वर्ष पुरानो प्रचलित नाम मठा फल्चाको पुनः निर्माणको लागि आज शिलान्यास गरिएको बताए। उनले, १९९० सालको भूकम्पबाट क्षतिग्रस्त स्थानको स्थानीयहरूले संरक्षण गर्दै आइरहेको र जीर्ण अवस्थामा रहेकाले पुनः निर्माणका लागि शिलान्यास गरिएको बताए। 

‘मठा फल्चाको पुरा नाम नरहेको र ऐतिहासिक फल्चा जीर्ण अवस्थामा रहेकाले कामपा-८ ले विधिवत् रूपमा अगाडि बढाउन लागेको र यसको शिलापत्रमात्र भेटिएको छ। यसलाई अब काठमाडौँ महानगरपालिका वडा ८ ले एक तल्लाको परम्परागत शैलीमा पुनः निर्माण गर्न लागेको हो।’ 

करिब २० लाख हाराहारी बजेटमा पुनः निर्माण हुन लागेको फल्चामा चुनासुर्की, काठ, दाचीँ, ईट्टा र माओपाको प्रयोग हुने वडाध्यक्ष संगतले बताए। 

फल्चा अगाडि एउटा मठ रहेको र त्यहाँ विभिन्न पूजाहरू हुने र बाटोमा रहेको ढुंगा जसलाई भैरवका रूपमा पूजा गर्ने परम्परा रहेको र फल्चामा आगन्तुकहरूले विश्राम गर्ने स्थल रहेको बताए।

चैत २७, २०८१ बुधबार १८:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।