राजा देखाएर लोभ्याउँदै कार्यकर्तालाई बल्खुमा ‘अलपत्र’ छाडेर गाडीमा हुइँकिए राप्रपाका नेता

काठमाडौं : काठमाडौँको बल्खु चोकको कलङ्कीतर्फको सडकमा ‘व्यवस्था बदलौँ, अवस्था बदलौँ, भ्रष्टाचार र कुशासन विरुद्ध’ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार खबरदारी सभा गर्यो।
खबरदारी सभाको उद्देश्य थियो राजतन्त्र र हिन्दूराष्ट्रको पुनर्स्थापना। खबरदारी सभामा राप्राका अध्यक्ष राजेन्द्र लिंदेन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेताहरु पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायतले बोल्दै गणतन्त्रवादी नेताहरुको सत्तो सराप गरे।
नेताहरू भ्रष्ट भए भन्दै राजसंस्थाको पुरस्थापना भए जनताले रातारात सुविधा पाइहाल्ने जसरी दाबीहरू गरे। तीनै राप्रपाका नेताहरू खबरदारी सभा सकेर मञ्चबाट निस्कनासाथ सुविधायुक्त गाडी चढेर विरोध सभाबाट फर्किए।
पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी लगायतका नेताहरूलाई लिन स्थलको मञ्चकै पछाडिपट्टि गाडी आइपुगेको थियो। राजेन्द्र लिंदेन पनि विरोध सभास्थलको मञ्च नजिकैबाट सुविधायुक्त चिल्लो गाडीमा हुइँकिए। ज्ञानेन्द्र शाही भने कार्यक्रम स्थलमा भएको मञ्चबाट करिब सय मिटर अगाडी हिँडेर गए। बल्खु पुल नजिकैबाट गाडी चढेर हुइँकिए।
एकपछि अर्को गर्दै पार्टीका शीर्ष तहका केही नेताहरू सुविधायुक्त गाडीमा हुँइकिदै विरोध सभास्थलबाट बाहिरिए। कार्यकर्ताहरू लुखुर लुखुर पैदल फर्किए।
राप्रपाको विरोध सभामा सहभागीहरूमा पाका उमेरकाहरुको संख्या उल्लेख्य थियो। विरोध सभा स्थलमा रहेका कार्यकर्ता अनि समर्थनका लागि पुगेकाहरू कोही विरोध सभास्थलमा भएको फोहोर संकलन गर्न थाले।
यसअघि तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका कारण सडक फोहोर भएकाले काठमाडौं महानगरले जरिवाना तिराउनका लागि ज्ञानेन्द्र शाहलाई पत्र काटेको थियो। फागुन २५ मा पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा फोहोर गरेको भन्दै राप्रपालाई नै एक लाख जरिवाना गराएको थियो महानगरले।
प्रहरीले घेरिएको सभा
भृकुटीमण्डप मागेको राप्रपाले पाएन। स्थानीय प्रशासनले सिफल र बल्खुमध्ये एक ठाउँमा गर्नु भनेपछि बुधवार बल्खु चोकसँगै कलङ्कीतर्फको भित्तातिरको सडकमा सभा गरेको थियो। कार्यक्रम स्थलबाहेक वरिपरिका सडकमा सवारीसाधन चलिरहेका थिए।
शान्तिपूर्ण भनेर हिंसात्मक भएको तीनकुनेको विरोध प्रदर्शनबाट पाठ सिकेर होला प्रहरी निकै चनाखो देखिएका थिए। उनीहरू नजिकै रहेको अस्पताल घेरेरै बसेका थिए।
सशस्त्र प्रहरीको पनि ठुलै टोली खटिएका थिए। विरोध शान्तीपूर्ण रुपमा सकियो। कुनै हुलदंगा भएन। राप्रपाका स्वयंसेवकहरूले उल्टो घुसपैठ गरेको भन्दै चार जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
राप्रपाको कार्यक्रममा पार्टीको झन्डा भन्दा चन्द्र सूर्य अङ्कित नेपालको झन्डा नै बढी देखिन्थ्यो। पार्टीको कार्यक्रममा नेपालको झन्डा बेच्न पुगेका व्यक्तिको संख्या पनि बाक्लै भेटियो।
चैत २६, २०८१ मंगलबार २१:१५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।