सगरमाथा संवादमा मोदी नआउने, भारत भ्रमणबारे सोध्दा झोक्किँदै ओलीले भने- ‘काँडेतार लगाको छ र?’

काठमाडौं : भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने भएका छन्।
शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन्।
‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न।’
ओलीलाई मोदीसँगको छललफलपछि ‘अब भारत भ्रमण सम्भव होला त?’ उनको भारत भ्रमणबारे सोधिएको प्रश्नमा उनी केही आक्रोशित सुनिए।
‘सम्भव असम्भव पनि होला र? भारत भ्रमण असम्भव कुरा थियो र? कतिपय कारणले नभ्याएको स्थिति थियो’, प्रधानमन्त्री ओलीले भने।
उनले थपे, ‘कहिले के काम परेको हुन्छ, कहिले के त्यही भएर मात्रै हो। बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र? त्यस्तो हुँदै होइन। त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ।’
चैत २३, २०८१ शनिबार १४:०६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।