सुप्रिम सहकारी ठगीमा रविको धरौटी बदर, उच्चले दियो पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सुप्रिम सहकारी ठगीमा रविको धरौटी बदर, उच्चले दियो पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको छ।

शुक्रवार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो। प्रहरीको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीका एक हजार ८ सय ३१ बचतकर्ताको १ अर्ब ७ करोड बढी रकम अपचलन भएको अभियोग लगाएको थियो।

लामिछाने र जोशीसहित २२ जनाविरुद्ध पूरक अभियोग पत्र दायर भएको थियो। रविमाथि २ करोड व्यक्तिगत र १० करोड ९९ लाख र छविमाथि २ करोड ५० लाख व्यक्तिगत र १० करोड ९९ लाख सामूहिक रकम अपचलनमा संलग्न देखिएको अभियोग पत्रमा उल्लेख थियो।

रवि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ५४ लाख र चितवनको सहारा सहकारी ठगीमा ५० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। 

चैत २२, २०८१ शुक्रबार १९:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।