तीनकुने क्षेत्रका पाँच सुरक्षा जोखिम, विरोध प्रदर्शन गर्न नदिन राज्य व्यवस्था समितिको निर्देशन

तीनकुने क्षेत्रका पाँच सुरक्षा जोखिम, विरोध प्रदर्शन गर्न नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने क्षेत्र संवेदनशील रहेकाले कुनै पनि प्रदर्शन आयोजना गर्न नदिन सरकारलाई निर्देशन दियो। शुक्रवारको बैठकले तीनकुनेमा विरोध प्रदर्शन गर्न दिनु प्रशासनको कमजोरी भएको अब सो क्षेत्रमा प्रदर्शनको अनुमति नदिन निर्देशन दिएको हो।

तीनकुने क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अति प्रज्वलनशील इन्धन भण्डारण केन्द्र, नजिकै संसद् भवन, विभिन्न सञ्चारगृह रहेकाले त्यस क्षेत्रमा सभा, धर्ना तथा प्रदर्शन आयोजना गर्न अनुमति नदिन निर्देशन दिएको हो।

तीनकुनेको सुरक्षाबारे विशेष रिपोर्ट

समिति सभापति रामहरि खतिवडाले बैठकको निर्णय सुनाउँदै तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अब अनुमति नदिन सरकारलाई निर्देशन दिए। तीनकुनेमा गत १५ चैत गते राजावादीहरूले विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए। 

‘छानबिन गरेर कारबाही गर’

 समितिले चैत १५ को तीनकुने घटनाबारे आवश्यक छानबिन गरेर दोषी देखिएमा उनीहरूमाथि कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन समेत दियो।

राज्य व्यवस्था समितीको बैठक। तस्बिर : रासस

राज्य व्यवस्था समितीको बैठक। तस्बिर : रासस
समितिले आगामी दिनमा हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न समेत सरकारलाई निर्देशन दियो। समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले शुक्रवार गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतसँग छलफल गरेको थियो। 

तीनकुने क्षेत्र किन संवेदनशील ?

तीनकुने, विरोध प्रदर्शनका लागि त्यति प्रयोग हुने स्थान हैन। पहिलो पटक यसको प्रयोग एमाले भातृ संगठन युवा संघले गरेको थियो। २०८० मंसिर ७ मा युवा संघ र दुर्गा प्रसाईँ समूहले एकै दिन शक्ति प्रदर्शनका लागि सडक रोजेका थिए। दुवै समूहले माइतीघर मण्डलामा कार्यक्रम गर्ने घोषणा गरे। स्थानीय प्रशासनले दुवै समूहलाई भेट हुन नदिने रणनीति अनुसार युवा संघलाई तीनकुने तोक्यो, प्रसाईँ समूहलाई बल्खु तोक्यो।

करिब एक वर्षपछि पुन एकै दिन गणतन्त्रवादीहरू समाजवादी मोर्चाको नाममा र राजावादीहरू  ‘राजसंस्था पुनः स्थापना लागि संयुक्त जनआन्दोलन समिति’ को नाममा शक्ति प्रदर्शनमा सडकमा उत्रिएका थिए। स्थानीय प्रशासनले यो पटक समितिलाई तीनकुनेमा स्थान तोक्यो, समाजवादी मोर्चालाई भृकुटीमण्डप।

कसलाई, कहाँ प्रदर्शन गर्न दिने वा नदिने त्यसको अनुमतिको अधिकार जिल्ला प्रशासन कार्यालयसँग छ। त्यसै अनुसार यी दुवै स्थान जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको थियो। यसैमा सबैभन्दा ठूलो त्रुटि देखिएकोबारे उकेराले खोजमूलक सामग्री प्रकाशित गरिसकेको छ।

१-जहाँ वाकिटकी नै सुनिन्न

प्रदर्शनबारे जिल्ला सुरक्षा समितिमा छलफल हुँदा तीनकुने क्षेत्रमा अनुमति दिन नहुने मत समेत आएको खुल्यो। सुरक्षा संगठनको प्रतिनिधिले सुरक्षाको दृष्टिकोणले सो क्षेत्र उपयुक्त नहुने सुझाव दिएका थिए। तर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तर्क सुनेनन्।

प्रहरीले प्राविधिक समस्या समेत देखाएर तीनकुनेमा विरोध प्रदर्शन गर्दा सुरक्षा समन्वयमा समस्या आउने तर्क गरेको थियो।कारण दिइयो ‘तीनकुने क्षेत्रमा प्रहरीको सेट र मोबाइल दुवैको सिग्नल कमजोर हुन्छ। लाग्दैन, लागे प्रस्ट सुनिँदैन।'

‘तीनकुने क्षेत्रमा प्रहरी सेटकै सिग्नलमा समस्या देखिन्छ। युवा सङ्घको विरोध प्रदर्शनको समयमा पनि समस्या देखिएको थियो,’ एक अनुभवी सुरक्षाकर्मीले उकेरासँग भने।

शुक्रवार सो क्षेत्रको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीसँग उकेराले सम्पर्क गर्दा उनीहरूबाट पनि त्यस्तै गुनासो सुनियो। मोबाइल अनि वाकिटकी दुवैमा सम्पर्क गर्न समस्या भएको र संवाद प्रस्ट नसुनिएको तिनको दाबी थियो। प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले टियर ग्याँस हानेका थिए।

यसबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग जिज्ञासा राख्यौँ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिएको जानकारीका आधारमा प्रहरीले जे समस्या देखाएका थिए त्यो प्राविधिक रूपमा पुष्टि भयो।

सुरक्षाका लागि एयरपोर्ट क्षेत्रमा कम्युनिकेसन नेभिगेसन र सर्भिलेन्स इन्स्टल भएको छ।नेभिगेसन १०८ देखि ११८ मेघाहर्जसम्म र ११८ देखि १३६ मेघाहर्जसम्म कम्युनिकेसन चलेको हुन्छ! यसको प्रभावले विमान उड्ने र उत्रने समयमा वरपरका अन्य फोनका नेटवर्क अनि रेडियो उपकरणका तरङ्गहरू प्रभावित हुन्छन्। सिग्नल सहजै टिप्दैन।

‘यी वेबहरूले अन्यत्र पनि असर गर्छ। प्रहरीको सेट र मोबाइलमा पनि त्यही रेडियो वेबले असर गरेको होला,’ भुलले भने।

२-अन्तर्राष्ट्रिय विमानस्थल

तीनकुनेमा विरोध सभा हुँदाको अर्को सुरक्षा जोखिम हो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र। बल प्रयोग गर्ने हो भने सडकबाट विमानस्थलको धावनमार्ग क्षेत्रमा प्रवेश गर्न गाह्रो छैन। कार्यक्रमस्थल र विमानस्थलको मूल भवनसँगको दुरी पनि करिब डेढ किलोमिटर मात्र हो।

विमानस्थलमा अवतरणको बेलामा न्यून उचाइमा समेत विमान रहने भएकाले त्यस क्षेत्रमा हवाई फायर गर्नु जोखिमपूर्ण काम हो।

३-जोखिम बढाउने इन्धन डिपो

सिनामंगलमा नेपाल आयल निगमको विमानका लागि चाहिने इन्धन राख्ने डिपो छ। तीनकुनेको विरोध प्रदर्शनस्थल र डिपोको दुरी मुस्किलले एक किलोमिटर पर देखिन्छ। यी दुवै स्थान कति संवेदनशील हो भन्ने शुक्रवारकै घटनामा पनि देखियो।

प्रदर्शनकारी उग्र हुँदै सिनामंगल क्षेत्रतिर लागे। इन्धन डिपोबाट त्यस्तै सय मिटरको दुरीमा उनीहरूले आगो लगाउन सुरु गरे। आगो विमानस्थलको मूल भवनतिर सल्कियो। विमानस्थलभित्रै वा नजिकैको डिपोमा पुगेमा ठूलो जनधनको क्षति हुने जोखिम देखेर नागरिक उड्डयन प्राधिकरणले तत्काल राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान रोक्यो।

भुलका अनुसार त्यो दिन पाँच वटा आन्तरिक उडान डाइभर्ट गरियो। चार वटा अन्तर्राष्ट्रिय जहाजलाई होल्डमा राख्नुपर्यो। जब आगो नियन्त्रणमा आयो अनि मात्र सबै उडान सुरु भयो।

४- दल र सञ्चारमाध्यमको भवन

माओवादी केन्द्रको कार्यालय नजिकै छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घर पनि नजिकै छ। अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजनका कार्यालयहरू नजिकै छन्।

५-संसद् कब्जा गर्न झन् सहज

तीनकुनेबाट संसद् भवनको दुरी बढीमा केवल एक किलोमिटर छ। तीनकुनेबाट संसद् भवन आउन दर्जन बढी सहायक बाटाहरू छन्। तीनकुने क्षेत्रबाट बागमती करिडोर निस्किएर भित्री गल्ली हुँदै सहजै संसद् भवनको पछिल्लो भागमा पुग्न सकिन्छ।

चैत २२, २०८१ शुक्रबार १७:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।