मध्यपश्चिम विश्वविद्यालयमा ८ वर्षपछि नेविसंघको कमब्याक

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा २०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्क बहादुर शाही स्ववियु सभापति बनेका थिए। सचिवमा अनेरास्ववियुका भरत शाही निर्वाचित भएका थिए।
आठ वर्षपछि भएको स्ववियु निर्वाचनमा नेविसंघका विवेक खड्का नेतृत्वको प्यानल नै विजयी भयो। विभिन्न समयमा तोकिएका निर्वाचनहरू कहिल्यै विश्वविद्यालयको तयारीका कारण त कहिल्यै अदालतको आदेशका कारण रोकिएको थियो।
मगंलबार राति सार्वजनिक मत परिणाममा ११ सय ८८ मत ल्याएर नेविसंघका विवेक खड्का अध्यक्षमा विजयी भए। सोमबार भएको मतदानमा एमाले निकट अनेरास्ववियुका जगतजगं शाहीले ९ सय ८ मत ल्याएर पराजित भए।
माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट स्ववियूको अध्यक्ष पदका उम्मेदवार प्रकाश विकले २ सय ७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार मिलन बिसीले २ सय ३१ मत पाए।
विश्वविद्यालयका ४ हजार ३ सय ८३ मतदातामध्ये २ हजार ८ सय ६४ जनाले मतदान गरेका थिए। स्ववियु सचिवमा नेविसंघकै भूपेन्द्र आचार्यले १३ सय ९६, कोषाध्यक्षमा लोकप्रसाद रिजालले १२ सय ५५ मत ल्याएर विजयी भए।
सदस्यहरूमा विकास कुमार थापाले १३ सय २३, निशान्त शाहीले १२ सय ७८, शिव ढकालले १२ सय ३३, गणेश थापाले १२ सय ७५, प्रतीक्षा थापाले १४ सय ९१, विष्णुराज सिंहले १३ सय ३४ र प्रकाश सिंहले १२ सय १९ मत ल्याएर विजयी भए।
विद्यापुर क्याम्पसमा नेविसंघका मध्यपश्चिम विश्व विद्यालयको आङ्गिक क्याम्पस पञ्चपुरी नगरपालिका–९ स्थित विद्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका चेतन नेपाली विजयी भए।
यसअघि पनि स्ववियु अध्यक्ष रहेका चेतनले अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार जनक विष्टलाई १७ मतले पराजित गरिन्।
नेपालीले १ सय ५३ मत ल्याउँदा विष्टले १ सय ३७ मत पाए। यस्तै सो क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका हार्दिक भण्डारी निर्वाचित भए। भण्डारीले १ सय ५७ मत ल्याउँदा नेविसंघबाट सचिवको उम्मेदवार बनेकी शिक्षा थापाले १ सय ३२ मत मात्रै पाइन्।
कोषाध्यक्षमा नेविसंघकी कल्पनाकुमारी थापासँग गठबन्धनबाट उम्मेदवार बनेकी अस्मिता कँडेल पराजित भइन्। थापाले १ सय ५२ मत ल्याउँदा कँडेलले १ सय ३२ मत ल्याइन्। सदस्यहरूमा नेविसंघका दिलीप माझी र विमल शाक्य विजयी भए।
चैत २०, २०८१ बुधबार ०८:४१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।