रवीन्द्र मिश्र र धवलमाथि राज्य विरुद्धको कसुर र सङ्गठित अपराधको आरोप, पाँच दिन म्याद

रवीन्द्र मिश्र र धवलमाथि राज्य विरुद्धको कसुर र सङ्गठित अपराधको आरोप, पाँच दिन म्याद

काठमाडौँ :  तीनकुनेमा कार्यक्रम आयोजना गरेर आपराधिक गतिविधि गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई हिरासतमा राख्न अदालतले पाँच दिनको म्याद दिएको छ।

आइतबार उनीहरूलाई अदालतमा पेस गरेपछि काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पहिलो पटक पाँच दिनको म्याद दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार प्रहरीले उनीहरूलाई राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धानका लागि अदालतसँग न्यायिक हिरासतमा राख्ने म्याद मागेको थियो।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक सय बढीलाई पक्राउ गरे पनि आइतबार ४२ जनालाई अनुसन्धानका लागि म्याद थप्न अदालतमा पेस गरेको थियो। रविन्द्र र धवलसहित ११ जनालाई एकै खालको आरोप र अन्यमाथि भने आपराधिक उपद्रव र संगठित अपराधको आरोप लगाइएको छ।

आयोजक समितिका प्रवक्ता स्वागत नेपालले सो दिन आफू कार्यक्रमस्थलमा नभएको प्रमाण पेस गरेको आधारमा उनलाई हाजिरी जमानीमा छाडेको छ।

चैत १७, २०८१ आइतबार १९:११:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।