म्यानमारमा भूकम्पमा परि एक हजार जनाको मृत्यु भएको पुष्टि, २३ सयभन्दा बढी घाइते

एजेन्सी : शुक्रबार म्यानमारमा गएको भूकम्पमा परी कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। दुई हजार तीन सयभन्दा बढी घाइते भएका छन्।
यो जानकारी म्यानमारका सैन्य नेताहरूले दिएका हुन्। केही घण्टाअघि मात्र म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्नसक्ने बताएका थिए।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहर मन्डलेमा ६९४ जनाको मृत्यु भएको छ। जबकि राजधानी नेपिडमा ९४ जनाको मृत्यु भएको छ।
म्यानमारमा शुक्रबार ७.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो।
सयौं माइल टाढा, थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्कियो। धेरै कामदार अझै पनि यसमा फसेको सम्भावना छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि दोस्रो भूकम्प गएको थियो। दोस्रो भूकम्पको तीव्रता ६.४ थियो। यस भूकम्पको केन्द्रबिन्दु सागाइङबाट १८ किलोमिटर दक्षिणमा थियो।
म्यानमारको दोस्रो ठूलो शहर मन्डलेका एक उद्धारकर्मीले बीबीसीलाई बताएअनुसार भूकम्पले ठूलो विनाश निम्त्याएको छ र सयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ।
समाचार एजेन्सी एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रबिन्दु म्यानमारमा रहेको बताएका छन्।
एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ र त्यहाँका धेरै भवनहरू खाली गराइएको छ।
म्यानमारको ठूलो भागमा आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या हजारौंमा हुन सक्छ।
चैत १६, २०८१ शनिबार ११:३४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।