आईपीएल : चेन्नईको घरमा १७ वर्षपछि बेंग्लोरको जित

आईपीएल : चेन्नईको घरमा १७ वर्षपछि बेंग्लोरको जित

काठमाडौं : इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ५० रनले हराएको छ।

बेंगलुरुले चेन्नईलाई १७ वर्षपछि उसकै मैदानमा हराएको हो। सन् २००८ को पहिलो संस्करणमा बेंगलुरुले चेन्नईलाई हराएको थियो। त्यसपछि चेपकमा बेंग्लोरको यो पहिलो जित हो।

१ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो।

चेन्नईका लागि ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे। रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए।​

शिभम दुबे १५ बलमा १९ रन बनाए। महेन्द्रसिंह धोनी १६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रनमा अविजित रहे।​ 

चेन्नईलाई सस्तैमा रोक्न बेंगलुरुका लागि जोस हेजलवुडले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए। यश दयाल र लियम लिभिङ्स्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए।

त्यसअघि चेन्नइको चेपक स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो।​

बेंगलुरुको लागि कप्तान रजत पाटिदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे।​ कप्तान पाटिदारले पहिलो अर्धशतक ३० बलमा पूरा गरे। ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे।

विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए। देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रन जोडे।

चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद र रविचन्द्रन आश्विनले समान १ विकेट लिए।​

जितसँगै बेंग्लोर दुई खेलमा अपराजित रहँदै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेको थियो।

चैत १६, २०८१ शनिबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।