पश्चगमन विरुद्ध एक हुन एमालेको आग्रह

पश्चगमन विरुद्ध एक हुन एमालेको आग्रह

काठमाडौँ : एमालेले पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन सबै राजनीतिक दललाई आह्वान गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका हुन्।

एमालेले शुक्रवार पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको उडण्डता, अराजकता र हिंसात्मक व्यवहारको निन्दा गरेको छ।

पोखरेलले आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरे।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’, विज्ञप्तिमा उल्लेख छ।

चैत १५, २०८१ शुक्रबार २२:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।