औँसी नुहाउन एकै दिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

मुस्ताङ : चैतेदसैँ औँसीमा कागबेनीधाममा नुहाउन एकै दिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन्। चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन शुक्रवार दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न श्रद्धालुहरू मुस्ताङ आएका हुन्।
थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले बताए। उनका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको प्रहरी चौकी घाँसा चेकपोस्टमा बिहीबार साँझ ५ देखि आज साँझ ५ बजेसम्म नौ हजार पाँच सय ९२ जना तीर्थालु भित्रिएका छन्।
प्रहरी नायब उपरीक्षक बोगटीले घाँसा प्रहरी चेकपोस्टबाट पछिल्लो २४ घण्टामा एक हजार दुई सय ४० यात्रुवाहक सवारीसाधन मुस्ताङ प्रवेश गरेका जानकारी दिए। कागबेनीमा श्राद्ध गर्ने तीर्थालुको सहजताका लागि सवारीसाधनलाई व्यवस्थित गर्न कागबेनी क्षेत्रमा एकतर्फी (वानवे) सडक लागू गरिएको बोगटीले बताए।
‘भोलि कागबेनीधाममा जानेलाई मुख्य सडकबाट सिधै र श्राद्ध गरिसकेपछि कागबेनी गाउँ हुँदै मुक्तिनाथ उक्लिएर जोमसोम जानेगरी सवारीका लागि मार्ग तोकिएको छ’, उनले भने ‘श्राद्धस्थलबाट दक्षिण एक सय मिटर तल सवारी पार्किङ गर्ने स्थान तोकिएको छ।’
मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी र भक्तजनको सहजताका लागि मुक्तिनाथ क्षेत्रमा सवारी पार्किङस्थल निर्धारण गरिएको बोगटीले बताए। उनका अनुसार शनिबार कागबेनीमा श्राद्ध गरी माथि उक्लिने भक्तजन सवार साना तथा हुलुका सवारीसाधनलाई मुक्तिनाथ रानीपौवाको दुईवटा बसपार्क र ठूला बसका लागि रानीपौवा बसपार्कबाट एक सय ५० मिटर तलको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ।
चैत १५, २०८१ शुक्रबार २२:४६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।