प्रदर्शन उग्र हुनुको दोषी सरकार : संयुक्त जनआन्दोलन समिति

प्रदर्शन उग्र हुनुको दोषी सरकार : संयुक्त जनआन्दोलन समिति

काठमाडौं : राजसंस्था पुनर्स्थापना आन्दोलनका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले राजावादीहरूको प्रदर्शन उग्र हुनुमा सरकारको दोष रहेको दाबी गरेको छ।

प्रदर्शनकारीहरूले व्यक्तिगत घरमा ढुङ्गा हान्ने, आगो लगाउने र लुटपाट गर्ने काम गरेका थिए। प्रदर्शनकारी उग्र भएपछि सरकारले तीनकुनेसहितको क्षेत्रमा कर्फ्यु जारी गरेको थियो।

समितीले विज्ञप्तिमार्फत सरकारद्वारा आन्दोलनमा घुसपैठ र दमन गरेको दाबी गरेको हो। समितिका प्रवक्ता स्वागत नेपालले जारी विज्ञप्तिमा सत्ताधारीहरूले शान्तिपूर्ण आन्दोलनलाई अशान्त बनाउने प्रयास गरेको दाबी गरेका छन्।

बुधवारदेखि नै सरकारले नागरिकहरूमाथि दमन गरेको, चक्रपथ, बालाजु, कलंकी, बुढानीलकण्ठ, चाबहिल लगायतका क्षेत्रहरूमा आन्दोलनकारीहरूलाई रोक्न र निषेध गर्न खोजिएको विज्ञप्तिमा दाबी गरिएको छ।

निजी घरभित्रबाट आन्दोलनकारीमाथि हमला भएकाले प्रदर्शनकारीले प्रतिकार गरेको दाबी गरिएको विज्ञप्तिमा घाइते आन्दोलनकारी र प्रहरीको निःशुल्क उपचार र क्षतिग्रस्त व्यवसायीहरूलाई क्षतिपूर्ति दिन माग गरेको छ।

विज्ञप्तिमा संयुक्त जनआन्दोलनले देश संक्रमणकालमा प्रवेश गरेको भन्दै सर्वपक्षीय वार्ता र संवादमार्फत समाधान खोज्न आह्वान गरेको छ।

चैत १५, २०८१ शुक्रबार १८:४०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।