जारी आईपीएलमा लखनउको पहिलो जित

जारी आईपीएलमा लखनउको पहिलो जित

एजेन्सी : लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हात पारेको छ।

लखनउले सनराइर्जस हैदराबादलाई ६ विकेटले परजित गर्यो। १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे।

दोस्रो विकेटका लागि मिचेल मार्शसँग पुरनले १ सय १६ रनको शतकीय साझेदारी गरे। मार्शले ३१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए।

कप्तान ऋषभ पन्त १५ बलमा १५ रनमा आउट हुँदा अब्बदुल समाद ८ बलमा २ चौका र २ छक्काको सहयोगमा २२ रनमा अविजित रहे। आयुष बदोनी ६ रनमा आउट हुँदा डेबिड मिलर १३ रनमा अविजित रहे।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए।

त्यसअघि घरेलु मैदान राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्यो।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे। उनले २८ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे। अनिकेत बर्मा १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन जोड्दै आउट भए।

नितिश कुमार रेड्डि २८ बलमा ३२, हेनरिक क्लासेन १७ बलमा २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए।

पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक बनाएका इशान किशन पहिलो बलमा नै आउट भए। कप्तान कमिन्स ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोड्दै आउट भए।

लखनउको लागि शार्दुल ठाकुरले ४, आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवको नाममा समान १ विकेट गरे।

लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो। हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो।

चैत १५, २०८१ शुक्रबार ०८:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।