काठमाडौंमा आज एकै पटक गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शन

काठमाडौंमा आज एकै पटक गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शन

काठमाडौं : आज काठमाडौंमा एकै पटक गणतन्त्रवादी पक्षधर र राजावादीहरूको प्रदर्शन हुँदैछ।

गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दैछ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गरेको छ।

दुवै समूहको प्रदर्शन विहान ११ बजेपछि सुरू हुने बताइएको छ।

पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन्। त्यसको प्रतिरोधमा उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्।

राजावादीहरूको प्रदर्शनमा संसदको पाँचौं ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजात्नत्र पार्टी नेपाल लगायत दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन्।

राजावादीहरू भक्तपुर, गौशाला र बल्खुपट्टीबाट तीनकुनेमा भेला भएर प्रदर्शन र आमसभा गर्दैछन् भने गणतन्त्रवादीका लागि भृकुटीमण्डपमा आमसभा गर्ने स्थान तोकिएको छ।

गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व गरेको समाजवादी मोर्चाले गर्दैछ। उक्त मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन्।

यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन्।

चैत १५, २०८१ शुक्रबार ०७:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।