संकटमा कमेडियन, नेपाली समाजमा पनि सल्कँदैछ भारतीय अनुदार सोच

कमेडियन कुणाल कामराको स्ट्यान्डअप कमेडीले भारतको महाराष्ट्रको राजनीति हल्लिएको छ अहिले। कारण, अनुदारवादी राजनीतिक शक्ति शिव सेनाको एक गुटका नेता एकनाथ सिन्देबारे गरिएको टिप्पणी।
मार्च २३ मा कुणालले आफ्नो युट्युब च्यानलमा राखेको कमेडीको प्रसङ्गले सत्ताधारी दल भारतीय जनता पार्टीका नेता र समर्थकको दिमाग पनि हल्लाएको छ। तर, आफ्नो स्थापित चरित्र अनुसार शिव सेनाको एक गुट अनि सिन्देका समर्थक कुणाललाई खोजिरहेका छन्।
उनीहरू कुणाललाई खोज्न असफल भए पनि उनको कमेडी शो छायाङ्कन भएको होटलसम्म पुगे। जमेर तोडफोड गरे। अहिले कुणाल भूमिगत समान छन्। उनलाई शिव सेनाको एक समूह अनि भारतीय जनता पार्टी (विजेपी) समर्थकहरू खोजिरहेका छन्।
कुणालले महाराष्ट्रका उप-मुख्यमन्त्री एकनाथ सिन्देको नाम नलिईकनै गद्दार भनेका थिए। गद्दार शब्द र सिन्देको घनिष्ठ सम्बन्ध छ। पार्टी विभाजित गरेर विजेपीसँग मिलेपछि शिव सेनाको अर्को समूह उद्धव ठाकरे समूहले उनलाई ‘गद्दार’ भनेर सम्बोधन गर्छ।
अनि कुणालले नाम नलिए पनि शिव सेना सिन्दे समूहका समर्थक त्यो गद्दार आफ्नै नेतालाई भनेको भन्दै विरोधमा उत्रिरहेका छन्।
कुणाल र शिव सेनाको एक समर्थकबीचको फोन संवाद पनि अहिले भाइरल छ- सामाजिक सञ्जालमा। संवादमा शिव सेनाको समर्थक कुणाललाई धम्की दिँदै महाराष्ट्रको सिएमबारे किन त्यस्तो भनेको भन्दै धम्क्याउँछन्।
कुणाल कुल मुडमा सोध्छन्- ‘को सिएम?’
- ‘हाम्रो साहेब एकनाथ सिन्दे’
-उनी कहाँ सिएम हुन्। डिप्टी सिएम हुन्।
धम्क्याउन फोन गर्ने शिव सेना समर्थक अक्मकिन्छन्। अनि सोध्छन् ‘कहाँ छस्, त्यही आएर गोद्छु।’
कुणाल भन्छन्- ‘तामिलनाडु।’
फोनकर्ता अक्मकिदै सोध्छन्- ‘तामिलनाडुमा के भनेर खोज्ने?’
कुणाल विरोधको प्रतिरोधमा भारतीय संविधान हातमा बोकेको तस्बिर सार्वजनिक गरेर प्रतिरोध गरिरहेका छन्। उनको समर्थनमा सामाजिक सञ्जाल अनि मुलधार भनिने भारतीय टेलिभिजन छाडेर सोसल मिडिया प्लेटफर्म यूट्युबमा आएका रविशकुमार जस्ता प्रभावशाली सञ्चारकर्मी उभिएका छन्।
कुणालको अभिव्यक्ति र त्यसले निम्त्याएको बबालमा मेनस्ट्रिम भनिने भारतीय मिडियाहरू तातो बहसमा सक्रिय छ। कुणालमाथि कारबाहीको पक्षमा माहौल बनाउन सक्रिय देखिन्छन् उनीहरू।
यो विषय यतिमै मात्र सीमित भएन। भारतको संसदमा समेत बबाल शुरू भयो। कुणालको अभिव्यक्तिको विपक्षमा अभिनय हुँदै विजेपी सांसद भएकी कंगना राणावत् समेत मिसिइन्। उनले कुणालले कमेडीको नाममा अपमान गरेको भन्दै आलोचना गरिन्। शिव सेना सिन्दे गुटका सांसद पनि यसमा मिसिने नै भए। अहिले कुणालले भारतमा एक प्रकारले भूकम्प नै ल्याइदिएका छन्।
केही समयअघि जाने हो भने भारतमा अर्का कमेडियन समय रैनाको विपक्षमा यस्तै माहौल बनिरहेको थियो। ‘इन्डिया गट लेटेन्ट’ नामक कार्यक्रममा गरेको टिप्पणीले यति बबाल भयो कि उनले युट्युबमा राखिएका सबै भिडियो डिलेट गर्नुपर्यो। प्रहरीमा उजुरी परेपछि उनी गएर माफी नै मागे।
यी दुईबीचको भिन्नता भनेको कुणालले राजनीति र कर्पोरेट क्षेत्रका व्यक्तिहरूबारे व्यङ्ग्य गरेका थिए। रैनाको कार्यक्रम अश्लील संवादले विवादमा तानिएका थिए। अहिले रैना विवाद चिसो भइसकेको छ। तर, कुणालविरुद्ध शुरू भएको विरोधले राजनीतिक माहौल तताइरहेको छ।
०००
अब छिमेकी मुलुक भारतबाट नेपालतिर फर्किऊँ।
एक महिनाअघि नेपालमा एक समूह माइतीघर मण्डला नजिकै बनेको काठमाडौंको सुरक्षा हेर्ने जिल्ला प्रहरी कार्यालय अगाडि भेला भएर नेपाली कमेडियन सजन श्रेष्ठमाथि कारबाहीको माग गर्न सक्रिय थिए।
एक पडकास्टमा बोल्दाबोल्दै महर्जनले अहिलेका चर्चित गायक कुम: सागरको गायन शैलीको नक्कल गरेर उनको गीत गाएका थिए। बोल्ने व्यक्ति कमेडियन थिए तर पडकास्टमा कमेडी भइरहेको थिएन।
विभिन्न विषयमा गफगाफ गर्ने क्रममा कुमको प्रसङ्ग आयो। उनले कुम: को नेवारी टोनसहितको गायन शैलीको नक्कल गरेर हल्का उडाएका थिए। तर, यो प्रसङ्गको अन्त्य उनले प्रशंसाबाटै गरेका थिए।
नक्कलमा अक्कल लगाउन नसक्दा कमेडियन सजन हल्का चुकेकै थिए। तर, उनले तत्काल आफ्नो कमजोरी महसुस गरेर माफी मागे। त्यो एपिसोड युट्युबबाट हट्यो।
तर, नेवा संस्कृतिको रक्षाको आवरणमा बबाल गर्न सक्रिय एक समूहले यसलाई चर्चामा आउने माध्यम बनाए। युट्युबबाट भिडियो हटाउनुपर्ने अनि सजनले माफी माग्नुपर्ने भन्दै प्रहरी कार्यालय अगाडि पुगे।
उनीहरू जुन बेलामा माफी र भिडियो हटाउनुपर्ने माग लिएर प्रहरी कार्यालय अगाडि पुगेका थिए, त्यो बेलामा सजनले माफी मागिसकेका थिए। भिडियो हटिसकेको थियो। त्यो समूहको उदेश्य गल्ती महसुस गराउने र भिडियो हटाउने थिएन। विवाद चर्काउनु थियो। त्यसैले उनीहरू चुप बसेनन्।
धन्न प्रहरीले संयमता अपनायो। उनीहरूले ठाडो उजुरीलाई जाहेरीमा बदलेन। अब हल्ला गर्दा सामाजिक सञ्जालबाट अटेन्सन आउन्न भन्ने बुझेपछि समूह आफैँ सेलायो।
तर, सजनमाथि गायक कुमको समर्थक अनि नेवा समाजको रक्षाको नाममा उनलाई धम्क्याउने र ट्रोल गर्ने क्रम जारी नै रह्यो। उनको परिवारका सदस्यको तस्बिर राखेर बलात्कार गर्ने धम्की दिन थालियो। प्रहरीमा उजुरी पनि पर्यो। यसमा प्रहरी जुन रूपमा गम्भीर हुनुपर्ने हो, भएन। दण्डित हुनुपर्नेहरू दण्डित भएनन्।
अहिले चर्चामा रहेको कमेडी शो ‘कमेडी दरबार’ का सञ्चालक विक्की अग्रवालले उकेरासँग भनेका थिए ‘कमेडी शो हो। कमेडीलाई कमेडीको रूपमा बुझिदिनुपर्छ। कहिले कसको चित्त बुझ्दैन, कहिले कसको चित्त बुझ्दैन। कसैको आँखा पो लाग्यो कि कसो हौ! हप्तै पिच्छे प्रहरी चौकी धाउनु पर्यो भने शो नै बन्द गर्नुपर्छ होला हौ।’
यसको कारण थियो उनको शोको एक संवादविरुद्ध प्रहरीको साइबर ब्यूरोमा परेको उजुरी। फिल्म ‘लाज शरणम्’ को प्रमोशनका लागि आएको टिमका सदस्यहरुलाई रोस्ट गर्ने क्रममा सागर लम्साल ‘बले’ सँगको एक संवादमा कमेडियन सुन्दर खनालले टिकटकरको प्रसङ्ग ल्याउँदै ‘ट्विनटावर, टिकटकर फाप्दैन’ जस्ता शब्दको प्रयोग गरेका थिए।
कसैको नाम नलिए पनि टिकटकर प्रिज्मा र प्रिन्सा प्रहरीमा उजुरी लिएर गएका थिए। बलेसँगै प्रिज्मा र प्रिन्सीले केही म्युजिक भिडियोमा सँगै काम गरेका थिए। सम्बन्ध बिग्रिएपछि उनीहरूले सँगै काम गर्न छाडे।
यी जुम्ल्याहा दिदी बहिनीहरू मिडियामै आएर बलेसँग काम गर्न छाडेपछि आफूमाथि निरन्तर आक्रमण गर्ने गरेको र सो प्रस्तुतिमा नाम नलिए पनि त्यो आफूहरूलाई नै भनेको दाबी गरेका थिए। यो प्रसङ्गमा कार्यक्रमको शब्द बहाना मात्र देखियो, विवादको मुल कारण उनीहरूबीच बिग्रिएको सम्बन्ध देखियो।
कमेडी दरबारमै गायक कुम सागरको एक प्रसङ्ग कार्यक्रमको टेलरमा आएकै आधारमा विरोध शुरू भए लगत्तै क्लिप हटाउनुपर्यो। कार्यक्रम प्रसारण हुँदा त्यो सम्पादन भइसकेको थियो। यो भन्दा अगाडि कमेडियन अपूर्व क्षितिज त पक्राउ नै परे।
नेपालतिर सल्कँदै अनुदार सोच
भारतीय जनता पार्टी भारतको सत्तामा आए लगत्तै भारतीय समाजमा हिन्दुत्व, मुस्लिम विरोधी भाव र मिडियामाथि नियन्त्रण र धम्कीको क्रम बढ्यो।
मुलधारका मिडियाहरू सत्ताको प्रचारयन्त्रमा बदलिए। निष्पक्ष पत्रकारिताबाट विश्वसनिय छवी बनाएका पत्रकारहरू मुलधारका मिडियामा टिक्न नसकेर सामाजिक सञ्जालमा सक्रिय भए।
सत्ताको बदमासी, निगरानी र आलोचनामा कुणाल लगायतका केही कमेडियनले जिम्मेवारी निभाइरहेका थिए आफ्नो कलामार्फत। सटायर मार्फत भए पनि सत्ताकफ गलत कामको आलोचना भइरहेकै थियो।
यसको प्रभाव पर्ने नै भयो। मिडियालाई तह लगाएको सत्ताधारी दलहरू कमेडियनमाथि खनिन थाले। कानुनको परिधिभित्र रहेर गरिने प्रस्तुति पनि पचाउन सकेन यो समूहले अनि बबाल शुरू हुन थाल्यो।
नेपालमा राजनीतिक व्यङ्ग्यमा यो तहको अनुदार व्यवहार भइसकेको छैन। कमेडियनहरूले गर्ने व्यंग्य वा सटायर वा रोस्टलाई दलका नेता अनि नेताका समर्थकहरूले पचाइरहेका छन्।
तर जाती, धर्म वा अन्य आवरणमा सामान्य विषयलाई उछालेर सामान्य विषयलाई पनि जटिल बनाउन चाहने घटनाक्रम बढिरहेका छन्। उता भारतमा राजनीतिबाट शुरू भएको अनुदार सोचले लगभग समाजलाई स्वस्थ आलोचना गर्न पनि डराउनुपर्ने अवस्थाको निर्माण भइसकेको छ।
अहिले कुम: सागर लगायतको विषयमा देखिएको विरोधको शैली त्यसको बाछिटा मात्र हुन्।
यता नेपालमा पनि अहिले ‘परिवर्तनकारी व्यक्ति’ मानिएका बालेन शाह लगायतका केही नेता विशेषको आलोचनायोग्य कामप्रति आउने नकारात्मक सामग्रीप्रति उनको समर्थकको आवरणमा तिब्र साइबर आक्रमण भइरहेका छन्।
प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्दा अभिनेता प्रकाश सपुत निरन्तर साइबर ट्रोलमा परिरहेका छन्। उनीमाथि व्यक्तिगत तहमा आक्रमण भइरहेका छन्।
यसले नेपालमा पनि सत्ता र शक्तिमा भएका नेताका विषयमा बोल्यो कि पोल्ने भारतीय अनुदार शैली कुनै पनि बेला सल्किने जोखिम देखिन्छ।
चैत १४, २०८१ बिहीबार १३:००:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।