जनयुद्धलाई उत्सव ठान्ने र सार्वजनिक बिदा दिनुपर्छ भन्न आवश्यक छैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनयुद्ध’लाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्न आवश्यक नभएको बताएका छन्।
जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनहरुद्वारा आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहेको भन्दै ‘जनयुद्ध’लाई उत्सव मनाउने वा बिदा दिएर मनाउन खोज्नु आवश्यक नभएको बताएका हुन्।
‘सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्। हिंसाको बाटो हामीले छोडिसकेका छौँ। गम्भीर मानव अधिकारको उलङ्घन गर्नेलाई कारवाही हुन्छ,’ उनले भने, ‘जनयुद्धलाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्ने कुराहरू गरिरहन आवश्यक छैन। यस्ता कुराहरुले पीडितलाई झन् पीडित बनाउन सक्छ।’
संसदबाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बनेपछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभई त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्श फेरि अर्को सिफारिस समिति गठन गरेको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्मबन्धी काम र सरकारको कुनै निकायको कर्मचारी हटाएको विषय तुलनायोग्य नभएकाले त्यस्ता अनावश्यक विषयलाई जोडेर प्रस्तुत नगर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले मुलुक पछाडि फर्कन नसक्ने पनि स्पष्ट गरे।
चैत १४, २०८१ बिहीबार ११:५९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।