आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरू हुन सकेन

काठमाडौं : आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरू हुन सकेको छैन।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा प्रतिपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेको बैठक एक घण्टा हुन लाग्दा समेत बस्न नसकेको हो।
आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए। प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सबै सांसदहरूले उठेर अवरोध गरे। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी लगायतका सबै विपक्षी दलका सांसदले उठेर विरोध गरेका हुन्।
विपक्षीहरूले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए। बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरे।
‘हामी चाहन्छौं– सरकारले यो निर्णय (कुलमान घिसिङलाई हटाउने निर्णय) फिर्ता गरोस्। साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’, बस्नेतले भने।
प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सूचारु हुन नदिने उनको भनाइ छ। त्यसपछि सभामुख घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भन्दै बस्न आग्रह गरे। तर, विपक्षीहरूले प्रधानमन्त्रीको जवाफ नआइ सदन नचल्ने अडान लिए।
त्यसपछि सुभामुख घिमिरेले सभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
चैत १३, २०८१ बुधबार १२:४९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।