गाजामै हमासविरोधी प्रदर्शन सुरू, प्रदर्शनकारीले के भने?

एजेन्सी : इजरायल-हमास युद्ध भएयता पहिलो पटक प्यालेस्टाइनी जनताले हमासविरुद्ध प्रदर्शन गरेका छन्।
मंगलबार गाजामा हमासविरुद्ध प्रदर्शन भएको प्रदर्शनमा उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौं मानिसहरूले यसमा भाग लिएका थिए।
प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका छन्। यसैबीच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे।
केही लडाकुहरूको हातमा हतियार पनि थियो। उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिट पनि गरे। त्यही समयमा, हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाए।
तीमध्ये धेरै युवाहरू उत्तरी गाजाको बेइत लाहियाको सडकमा देखिए। उनीहरू ‘आउट...आउट...आउट...हमास आउट...’ भन्ने नारा लगाइरहेका थिए।
उता हमासका समर्थक मानिने समूहहरूले यस विषयमा हमासको बचाउ गरेका छन्। हमास समर्थकहरूले यी प्रदर्शनहरूलाई सामान्य भन्दै विरोध प्रदर्शनमा भाग लिनेहरूलाई ‘देशद्रोही’ भनेका छन्।
यस विषयमा हमासको तर्फबाट कुनै बयान आएको छैन।
चैत १३, २०८१ बुधबार ०८:३२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।