जनकपुर टुडेको एक प्रति पत्रिकामा छापिएको सूचनाको मूल्य ६ लाख, प्रधानसम्पादकसहित तीन विरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुर टुडेको एक प्रति पत्रिकामा छापिएको सूचनाको मूल्य ६ लाख, प्रधानसम्पादकसहित तीन विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : ठेक्का आव्हान र स्वीकृतिको सार्वजनिक सूचना एकप्रति पत्रिकामा मात्र प्रकाशित गरी मिलेमतोमा सघाएर ६ लाख भुक्तानी लिएको अभियोगमा जनपुर टुडेका प्रकाशक तथा प्रधान सम्पादक बृजकुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार स्वास्थ्य चौकी भवन, डिप बोरिङ र डिप बोरिङ हाउसको ठेक्काको सार्वजनिक सूचना लुकाएर बोलपत्र आव्हानको सूचना जम्मा एकप्रति पत्रिकामा मात्र प्रकाशित गरी अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारको अभियोग पत्रमा धनुषा, बटेश्वर गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धानमा यादवसहित बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौ तहका अधिकृत सुमन कुमार पुरीलाई समेत प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार बटेश्वर गाउँपालिकाबाट आर्थिक वर्ष २०७६।०७७ मा विभिन्न वडाहरूमा स्वास्थ्य केन्द्र निर्माण र डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणको लागि बोलपत्र आव्हान गरेको थियो।

बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष यादवसँगको मिलेमतोमा उक्त बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा सूचना प्रकाशन नगरेको अख्तियारको दाबी छ।

उनीहरूले बटेश्वर गाउँपालिकाको ठेक्काको कार्यालयमा अभिलेख राख्ने प्रयोजनका लागि मात्र जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकामा २०७६ माघ २४  मा एक प्रति मात्र बोलपत्र आह्वान र २०७६ चैत ३ मा एक प्रति मात्र बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरी गाउँपालिकामा पेस गरेर

झुटो विवरण सहितको पत्रिकाको आधारमा जनकपुर टुडेलाई ६ लाख ४४ हजार एक सय भुक्तानी दिएको पुष्टि भएको उल्लेख छ।

अख्तियारले यसमा सावन कुमार चौधरी र सुमन कुमार पुरी संलग्न रहेको भन्दै उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अनुसार ६ लाख ४४ हजार एक सय रुपैयाँ बिगो कायम गरेर कैद र बिगो बमोजिमको जरिवाना सजायसँगै बिगो असुल उपरको माग गरेको छ।

अख्तियारले जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा उक्त कम्पनीका अध्यक्ष समेत रहेका यादवले चौधरी र पुरीसँगको मिलेमतोमा बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाई गर्ने जिम्मा लिएको देखाई नियमानुसार पत्रिकामा सार्वजनिक प्रकाशन नगरी लुकाएर गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्नका लागि मात्र दैनिक पत्रिकाको एक प्रति मात्र बोलपत्र आह्वान र बोलपत्र स्वीकृतको सूचना छापेर पेस गरेको दाबी गरेको छ।

‘झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ६ लाख ४४ हजार एक सय भुक्तानी लिएको पुष्टि भएको हुँदा गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भएकाले मुख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन’ माग दाबी लिएको छ।

चैत १२, २०८१ मंगलबार २३:१३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।