१७ वर्षदेखि कृषिमै खटिरहेकी ‘दहीवाली दिदी’, लौकाबाट मात्रै मासिक ४० हजार आम्दानी

१७ वर्षदेखि कृषिमै खटिरहेकी ‘दहीवाली दिदी’, लौकाबाट मात्रै मासिक ४० हजार आम्दानी

मङ्गलबारे : इलामको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन्।​​​ अधिकांशले कृषि पेशा छाड्दै गएको अवस्थामा उनले गाउँमै बसेर कृषि पेशालाई अङ्गाल्दै उदाहरणीय पात्र बनेकी छन्।

हिमादेवी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन्। दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिनु उनको दैनिकी हो। सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारी खेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने बताइन्। उनले अहिले १० बिघा जमिनमा विभिन्न कृषि उपजको खेती गरिरहेकी छन्।

‘अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन्। आफ्नो छ कट्ठा मात्र जमिन छ। बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ’, हिमादेवीले भनिन्।

उनको बारीमा अधिकांश समय लौका फल्दो रहेछ। गत असोजदेखि उत्पादन सुरू भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ। असोजताका प्रतिलौका १७० रुपैयाँसम्म बिक्री गरेकी उनले अहिले भने ५० रुपैयाँमा बिक्री हुने गरेको सुनाउँछिन्।

उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन्, हिमादेवी। करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो जाने गर्छिन्। लौका बेचेरै बुहारी जापान पठाएको उनको भनाइ छ।

उनले भनिन्, ‘लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ। दैनिक घरव्यवहार चलाउन समस्या छैन। छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख रुपैयाँ ऋण तिरिसक्न लागेँ।’

लौकाबाहेक हिमादेवीको बारीमा स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको छ। घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेकी छन् उनले। त्यही दही र मोही पनि बजार लगेर बेच्छिन् उनी। बजारमा उनलाई अधिकांशले दहीवाली दिदी भनेर चिन्दा रहेछन्।

‘दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन्। कर्मले दहीवाली दिदीसमेत बनाएको छ। यो नामले बोलाउँदा झन खुसी लाग्छ’, हिमादेवीले भनिन्।

उनका श्रीमान् भुपू प्रहरी हुन्। श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेका छन्। बस्ती बाक्लो भएका ठाउँमा डुलाउनु नपर्ने भएकाले अधिकांश समय सामान त्यही लैजान्छन्।

१७ वर्षअघिदेखि यो पेशालाई निरन्तरता दिँदै आएकी हिमादेवी अहिले व्यावसायिक तरकारी खेतीमा संलग्न छिन्। हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा समेत सहभागी भइन् उनी।

दीपज्योति कृषि फार्म सञ्चालन गरेकी हिमादेवीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन्। कृषिमा अर्ग्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घरमा भएका गाई र बाख्राको मल नै बालीमा प्रयोग गर्ने गरेको बताइन्।

आफूले मात्र काम गर्न नभ्याएपछि उनले १० जनालाई रोजगारी समेत दिएकी छन्। यद्यपि त्यो रोजगारी मासिक रूपमा भने दिनसक्ने अवस्था नभइसकेको उनको भनाइ छ। अहिले उनले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा काममा लगाउँछिन्।

प्रेसर, सुगर भएकाहरूलाई चिकित्सकले लौका खान सुझाव दिने भएकाले त्यस्ता रोग लागेकाहरू लौका खोज्दै घरसम्मै आउने गरेको उनको भनाइ छ।

एउटै लौकाको पाँच हजार
हिमादेवीले एउटै लौकाबाट पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी गरेकी रहिछन्।लौका तरकारीका रूपमा बेच्दा दुई सय रुपैयाँसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनको भनाइ छ। ५० रुपैयाँको तीन वटा बीउ घरबाट बिक्री हुने गरेको रहेछ।

‘ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ। यसको बजारीकरणमा समस्या छैन। ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ। सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ। लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ’, हिमादेवीले भनिन्।

राससको सहयोगमा

चैत १२, २०८१ मंगलबार १०:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।