सरकारलाई मेयर बालेनको धम्की ‘सबैलाई टुकुचामा गाड्दिन्छु!’

काठमाडौँ : प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौँ महानगरपालिकाको भुक्तानी ठप्प छ। कर्मचारीदेखि सफाइ कर्मचारीसम्मले पारिश्रमिक पाउन सकेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई मेयर बालेन शाहले कार्यालयमा काम गर्न दिएका छैनन्। उनले सरकारसँग नयाँ कार्यकारी अधिकृत मागिरहेका छन्। उता सरकारले भने गुरागाईँलाई काम गर्न दिन लिखित निर्देशन दिएको छ। मेयर बालेनले मानेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा तीन महिनादेखि आर्थिक गतिविधि ठप्प भएपछि महानगरमा कहिले शिक्षक त कहिले कर्मचारी धर्नामा बस्न थालेका छन्।
सोमबार त्यसैको रिस पोख्दै मेयर बालेनले सरकारको दम्भले महानगरपालिकाको सरसफाइ कर्मचारीले ३ महिनादेखि तलब नपाएको भन्दै सामाजिक सञ्जालमा सरकारलाई टुकुचामा गाड्ने धम्की दिए।
उनले लेखे ‘को-कोले, के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु! त्यो पछि हेरौँला तिमीहरूको के-के तन्त्र हो!’
सामाजिक सञ्जालमा मेयर बालेनबाट यस्ता सन्देश आउनु सामान्य नै हो। उनी कहिले सिंहदरबार जलाउने चेतावनी दिन्छन् त कहिले के। त्यही प्रसङ्गमा अहिले उनले सरकारले प्रशासकीय अधिकृत नपठाएको झोकमा सामाजिक सञ्जालबाट टुकुचामा गाड्ने धम्की दिए।
दुवै पक्षको इगोको मारमा महानगर
पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावरको नक्सा पास विवादमा मेयर बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन गर्ने भन्दै उनको कार्यकक्षमा ताला लगाइयो। उनलाई निलम्बन गर्ने निर्णय भयो। गुरागाईँ महानगरको कर्मचारी हैनन्। स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउँछ।
गुरागाईँमाथि छानबिन गर्ने भनेर समिति गठन गरे पनि सो समितिको प्रतिवेदन सार्वजनिक भएको छैन। कार्यकारी अधिकृत नभएपछि महानगरको आर्थिक प्रशासन ठप्प भयो। महानगरले नयाँ कार्यकारी अधिकृत वा आर्थिक अधिकार माग्यो। तर मन्त्रालयले गुरागाईँलाई नै काम गर्न दिने वातावरण बनाउन भन्दै नयाँ कार्यकारी पठाएको छैन। बालेन उनै गुरागाईँलाई पुन स्विकार्ने पक्षमा छैनन्। दुवैको इगोमा महानगरको आर्थिक काम ठप्प छ। कर्मचारीहरूलाई तलब समेत खुलाउन सकेको छैन।
चैत ११, २०८१ सोमबार २३:५७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।