कांग्रेस महामन्त्री गगनले लेखे ‘निर्णय गलत छ,सरकार !’

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण नेतृत्वबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटोमा हिँडेको प्रतिक्रिया सार्वजनिक गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले असन्तुष्टिको आगोमा मट्टितेल मिसाउने काम गरेको लेखेका छन्।
उनले लेखेका छन् ‘आम नागरिकमा असन्तुष्टि बढ्दो रहेको र त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने, सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?’
उनले ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?’ भन्ने प्रश्न गर्दै ‘मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’ लेखेका छन्।
अहिले ऊर्जामा नेपाली कांग्रेसबाट दीपक खड्का मन्त्री छन्। उनी मन्त्री भएदेखि नै व्यापारिक स्वार्थमा काम गरेकाले बदनाम छन्। मन्त्री हुनुभन्दा अगाडि नै उनी नेपाल स्काउटको भाडामा लिएर भवनको दुरुपयोग गरेको र भाडा बापतको रकम नतिरेकोमा विवादित थिए।
उनी मन्त्री भए देखि नै निरन्तर कुलमान विरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। डेडिकेटेड र ट्रङ्क लाइन बापतको महसुल उठाउन खोज्दा रकम तिर्न नचाहने व्यापारिक समूहको स्वार्थमा प्रधानमन्त्री केपी ओली समेत जोडिने गरेका छन्।
चैत ११, २०८१ सोमबार २३:२५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।