कला क्षेत्रमा विवादका 'बादशाह'

काठमाडौं : गायक तथा अभिनेता प्रकाश सपुतको कला यात्रामा सफलतासँगै विवाद पनि जोडिँदै आयो। उनका गीत हुन् या म्युजिक भिडियो अथवा पछिल्लो समय त फिल्म पनि सबै कुन न कुनै कोणबाट विवादमै तानिए, तानिइरहेको छ।
व्यवसायीक र चर्चाका हिसाबले विवाद उनलाई फापेको पनि देखिन्छ। तर समय सधैँ दाहिना हुन ग्राहै हुन्छ। गायन, म्युजिक भिडियोमा अभिनय हुँदै ठूलो पर्दामा नायकका रूपमा देखिएका प्रकाशको तेस्रो फिल्म वसन्तको प्रचारसँगै विवाद पनि जोडिँदै आयो। पहिलो फिल्म परदेशी-२ मा उनले मध्यम अभिनय गरेका थिए। उनी यो फिल्मको कलाकार मात्र भएकाले उनी विवादमा तानिएनन्।
दोस्रो फिल्म पूर्णबहादुरको सारंगीको रिलिज मिति घोषणा भए लगत्तै सहमतिमा धोका भएको भनेर सामाजिक सञ्जालमा लेखे। आफ्नो निर्देशनमा बनिरहेको फिल्म वसन्तपछि मात्रै पूर्णबहादुरको सारंगी रिलिज गर्ने वाचा गरेर निर्माण टिमले वाचा तोडेको भन्दै उनले दिएको अभिव्यक्तिको तारोमा उनी नै परे।
‘निर्माण टिमले आफू अनुकूल समय हेरेर फिल्म रिलिज गर्ने कि कलाकारहरूको इच्छा अनुसार’ भन्ने बहस समेत भएको थियो। जुन बेलामा पूर्णबहादुरको सारंगी रिलिज भएको थियो त्यो बेलामा उनको पहिलो निर्देशनमा बन्न लागेको फिल्मको छायाङ्कन समेत सकिएको थिएन।
असन्तुष्टि सार्वजनिक गर्दा सहानुभूति हैन उल्टो आलोचित भए। फिल्म रिलिजका केही दिन उनी प्रमोसनमा समेत देखिएनन्। फिल्मले गति लिन थालेपछि उनी हलहरूमा देखिन थाले। फिल्म सुपरहिट भयो। धेरै रेकर्डहरू राख्यो। तर उनले फिल्मप्रति अभिव्यक्त गरेको धारणाले यी कुनै पनि सफलताको क्रेडिट उनको भागमा गएन। एकल विजय बरालले पाए सबै क्रेडिट।
उनले आफ्नो पहिलो निर्देशन रहेको फिल्म बशन्तको छायाङ्कन सकाएर प्रचारमा जुटे। प्रचारको गति बढिरहेको छ नै सँगै विवादको गति पनि बढिरहेकै छ।
पहिलो त उनले टिजरमा प्रयोग गरेको शब्द नै विवादमा आयो। शब्दप्रति दलित समुदायबाटै विरोध भयो। उनी सोही समुदायको सदस्य हुन्। तर थरको साटो सपुत शब्द प्रयोग गर्छन्। तर फिल्मको टिजरमा भने दलित समुदायलाई बिझ्न सक्ने शब्द प्रयोग गरे। बिझ्यो पनि। सार्वजनिक रूपमै आलोचित भयो उनको काम।
फिल्म रिलिजका लागि पोस्ट प्रडक्सनमै थिए उनी। प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रममा उनी पनि वक्ता थिए।
उनले ओलीलाई सङ्घर्षशील, आत्मविश्वासी र युवा सोच भएको नेता भन्दै प्रशंसा गरे। प्रशंसा उनका लागि भारी भएर आयो। केहीले अभिव्यक्ति स्वतन्त्रताको पक्षबाट उनको समर्थन नगरेका हैनन् तर सामाजिक सञ्जालमा समर्थनभन्दा चर्को आलोचना भयो। फिल्म बहिष्कारसम्मको आव्हान भयो।
फिल्मको ट्रेलर सार्वजनिक गरिसक्दा पनि त्यो विवादले छाडेको छैन उनलाई। कलाकारको रूपमा कुनै दलको नेताको पक्षमा उभिने कि स्वतन्त्र पहिचान कायम राख्ने भनेर उनीहरूमाथि प्रश्न उठिरहेका छन्।
उनले कलाकारलाई आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ भन्ने तर्क गरिरहेका छन्। ‘प्रशंसा गर्दा पनि आलोचना सहनुपर्ने रहेछ है ?’ भनेर बचाउ गरे। उनले जे तर्क गरेका छन् असत्य भने हैन। तर उनको अभिव्यक्तिलाई दर्शकहरूले कुनै एक दल वा कुनै नेताप्रतिको झुकावको रूपमा दर्शकले लिएमा भने त्यसको असर फिल्मको व्यापारमा पर्ने जोखिम हुन्छ नै।
सपुतको विवाद शृङ्खला
प्रकाश सपुतको कला यात्रा जुन गतिमा छ विवादको यात्रा पनि त्यही गतिमा देखिन्छ। गलबन्दी बोलको गीतको कपीराइट विवाददेखि वसन्तसम्मै त्यो विवाद टुटेको छैन।
विवादले उनको व्यावसायिक कला यात्रामा त्यति नकारात्मक प्रभाव परेको छैन। गीत चलेकै छन्। म्युजिक भिडियोबाट सुरु भएको अभिनय यात्रा फिल्महुँदैं निर्देशनसम्म पुगिसकेको छ।
गलबन्दी च्यातीयो बोलको गीत प्रतिलिपि अधिकारको विवादमा तानिदा उनले लोक गायक शम्भु राईलाई क्रेडिट दिन बाध्य भएका थिए।
‘पिर’बोलको गीत चर्चित त भयो तर त्यसको म्युजिक भिडियोको कथावस्तुले विवाद निम्त्यायो। गीतमा नेपालबाट वैदेशिक रोजगारीमा गएका श्रमिक महिलाहरूले विदेशी भूमिमा यौन शोषण भोग्नु परेको कथा समेटिएको थियो। कतिपयले यसलाई यथार्थपरक भने, केहीले आपत्ति जनाउँदै गीतले नेपाली नारीहरूको चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाए। महिला लडाकुको चरित्र चित्रणले यो राजनीतिक विवादमा समेत तानिएको थियो। म्युजिक भिडियोमा त्यो दृश्य हटाउन बाध्य भए।
अर्को गीत ‘सकम्बरी’ मा प्रयोग गरिएका केही शब्दहरूले उनी विवादमा तानिए। यसमा पनि स्त्रिद्वेशी शब्द नै विवादमा पर्यो। स्कुटी, कानको झुम्कासम्म कसले किन्दियो भन्ने शब्द महिलाविरुद्ध ट्रोलका रूपमा प्रयोग भयो। योक्रम ‘कुरा बुझ्नुपर्छ’ बोलको गीतसम्म कायमै रह्यो।
‘दमाई महाराज’ मा दलितलाई शास्त्र पढाएको दृश्य म्युजिक भिडियोमा राखे। दलित समुदाय नै उनको आलोचनामा खनिए। ‘जाले रुमाल फाट्यो’ मा कुनै समस्या थिएन। तर महिलाको अङ्ग हेर्दै मेरै त हो नि भन्ने संवाद राखिदिए। विवाद हुने नै भयो। यसले विवाद उनले नचाहेर निम्तिएको हैन, उनको नियतै विवाद निम्त्याउने हो भनेझैँ देखियो।
‘कमाउनी नि हो, रमाउनी नि हो…’ बोलको म्युजिक भिडियोमा सपुतले वसन्तपुरको एक इनारमाथि नाचेको दृश्य सार्वजनिक भयो। जीवित देवी मानिने कुमारीका लागि प्रयोग गरिने ‘पवित्र’इनारको अपमान गरेको भनेर आलोचित भए उनी।
‘पूर्णबहादुरको सारंगी’ फिल्मको रिलिज मितिबारे सामाजिक सञ्जालमा असहमति जनाउँदा सपुत विवादमा तानिएका थिए। उनले फिल्मको प्रमोसनमा सहभागी नभएको विषयलाई लिएर निर्माताहरूले गुनासो पोखेपछि यो विषय चर्चामा आएको थियो। सपुतले आफूले स्वेच्छाले काम गर्ने स्वतन्त्रता भएको बताउँदै निर्माताहरूको आरोप खण्डन गरेका थिए।
वसन्तको पहिलो गीतमै उनले कामी शब्दको प्रयोग गरे। दलित समुदायबाटै होच्याउने काम भएको भनेर विवाद भयो। यसले फिल्मको गीत युट्युबमा हेर्नेको सङ्ख्या त बढायो होला तर निर्देशकको रूपमा सपुतको छविमा भने सकारात्मक प्रभाव पारेन।
अहिले पुन उनको अभिव्यक्ति राजनीतिक झुकावमा लगेर जोडियो। फिल्मको प्रमोसनमा फिल्मका विषयवस्तु हैन, अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै हिँडिरहेका छन्।
संयोग कि नियोजित ?
प्रकाश सपुतले आफ्नो पछिल्लो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै कलाकारलाई आफ्ना विचार राख्ने स्वतन्त्रता हुनुपर्ने बताए। यसमा दुई मत रहेन। उनले सिर्जना र अभिव्यक्तिमार्फत समाजका विषय उठाउने कार्य आफ्नो अधिकारभित्र पर्ने बताए। यसमा पनि विमति हुने स्थान रहेन।
ओलीको किताब विमोचनको अभिव्यक्ति फरक नै हो। कलाकार कुनै दलको नेताबाट प्रभावितै हुन हुन्न भन्ने छैन। कतिपय कलाकारहरू त दलमै लागेर सक्रिय पनि छन्। तर, कलाकारले गीत वा अभिनय वा अन्य माध्यमबाट आफ्नो विचार व्यक्त गर्दा त्यसले अन्य समुदायमा पार्न सक्ने प्रभावबारे हेक्का राख्नु स्वभाविक नै हो।
सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै अहिले विवादसँगै संकट मात्रै आउँदैन त्यसले आर्थिक उपार्जन समेत बढाउँछ। त्यसले भिडियो प्लेटफर्महरुमा पार्ने प्रभाव अर्थसँग समेत जोडिन्छ। सपुतका केही विवाद हेर्दा संयोग भन्दा नियोजित समेत देखिन्छ।
जस्तो 'जाले रुमाल फाट्यो' गीत। महिला हिंसाको विपक्षमा बनेको यो गीत अनि म्युजिक भिडियोमा कुनै समस्या देखिदैन। गीतका शब्द अनि छायाँकनको कथानकमा पनि समस्या छैन। तर विचमा उनले महिला पात्रको अंगबारे बोलेको शब्द राखिदिए जुन सार्वजनिक रुपमा प्रयोग गर्न सहज हुने शब्द थिएन।
महिला पात्र जुन प्रेमिका हुन् उनलाई हेरेर 'चा.....मेरै हो नि' संवाद बोल्नुको सम्बन्ध न कथानकसँग थियो न त गीतको लयमा यसको कुनै महत्व। यो शब्द राख्दा विवाद हुने निश्चित थियो। विवादले यूट्युवमा भ्युज तान्न सक्थ्यो। यो शब्द जवर्जस्ती राख्नुमा उनको नियत सफा देखिएको थिएन।
अनि वसन्तको गीतमा राखिएको शब्दमा पनि संयोग भन्दा नियतमै खोट देखियो। उनले जुन समुदायको पक्षमा फिल्म बनाएको दाबी गरिरहेका छन् त्यही समुदायको चित्त दुखाए।
सार्वजनिक भएका सामग्रीका आधारमा फिल्म वसन्त दलित समुदायका सदस्य र गैर दलित समुदायका सदस्यबीचको प्रेम सम्बन्धपछि उत्पन्न घटनाक्रममा केन्द्रित देखिन्छ। गीतमा विवाद भएपछि उनी केही सचेत भएका हुन् कि भन्ने देखिन्छ अन्य प्रचार सामग्रीमा। तर अझैँ जोखिम कम देखिन्न फिल्मलाई व्यापारिक रुपमा सफल बनाउन।
चैत ११, २०८१ सोमबार २०:०४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।