एसइई परीक्षामा ह्वाट्सएपमार्फत चिट चोराए, दुई परीक्षा गार्ड पक्राउ

एसइई परीक्षामा ह्वाट्सएपमार्फत चिट चोराए, दुई परीक्षा गार्ड पक्राउ

सुनसरी : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलमार्फत 'ह्वाट्सएप' प्रयोग गरेको भेटिएपछि सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रका परीक्षा गार्ड पक्राउ परेका छन्।

निरीक्षकले 'ह्वाट्सएप ग्रुप' बनाएर भित्रको प्रश्न पत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको खुलेको छ।

गणित विषयको परीक्षा चलिरहँदा परीक्षा सुरक्षा गार्डले नै 'ह्वाट्सएप' मार्फत चिट चोर्न सहयोग गरेको भेटिएपछि दुई जना गार्ड पक्राउ गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखपछि परीक्षा गार्ड (शिक्षक) ले मोबाइल अफ गरेका थिए। अनुगमन टोलीले मोबाइल अन गर्न लगाएर हेर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको मोबाइलमा रहेको ह्वाट्सएप मार्फत च्याट गरेर चिट चोराएको खुल्यो।

ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको छ।

अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए। भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।

सुनसरीको दुहबीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट १० हजार रकम लिएको आरोपमा दुई जना परीक्षा केन्द्रका गार्डलाई निष्कासन गरेका थिए।

गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई-दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो। सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो।

सुनसरीमा खासगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। निजी विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउन परीक्षा केन्द्रदेखि निरीक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेको देखिन्छ।

जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए।

चैत ११, २०८१ सोमबार १८:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।