कोरोना लकडाउनको पाँच वर्ष : ती दिन जब संसार रोकिएको थियो [फोटो कथा]
![कोरोना लकडाउनको पाँच वर्ष : ती दिन जब संसार रोकिएको थियो [फोटो कथा]](https://ukeraa.prixacdn.net/media/albums/Corona-Lockdown-Five-Years-9_78oARtRuaU.jpg )
काठमाडौं : आज २४ मार्च, २०२५ अर्थात कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको पाँच वर्ष पूरा भएको दिन।
पाँच वर्षअघि सरकारले आजकै दिनबाट देशव्यापी लकडाउन घोषणा गरेको थियो। यस अवधिमा नेपालमा कोरोनाबाट मात्र १२ हजार ३१ जनाको मृत्यु भयो भने १० लाख ३ हजार ४५० जनामा संक्रमण पुष्टि भयो।
संक्रमितमध्ये नौ लाख ९१ हजार ३२३ जना निको भए। देशमा जम्मा जनसंख्याको करिब ८४ प्रतिशतले कोरोनाविरुद्धको पहिलो खोप र ३५ प्रतिशतले दोश्रो खोप लगाए।
नेपालमा कोरोना महामारी
चीनको वुहानमा २०१९ को डिसेम्बरमा पहिलो कोरोना संक्रिमित भेटिएको पुष्टि भएपछि २०२० को जनवरीसम्म चीनका अन्य शहरमा पनि संक्रमण फैलियो।
नेपालमा पनि २०२० को जनवरी ९ मा चीनको वुहानबाट फर्किएका ३२ वर्षीय विद्यार्थीमा जनवरी २० मा कोरोना संक्रमण पुष्टि भयो। उनी उपचारपछि घर फर्किए।
फ्रान्सबाट कतार हुँदै मार्च १७, २०२० मा नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा मार्च २२ मा कोरोना संक्रमण पुष्टि भएसँगै सतर्कता थप बढाइयो।
यति हुँदासम्म ‘पर्ख र हेर’को अवस्थामा रहेको सरकार १९ मार्चमा युएईबाट नेपाल फर्किएका ३२ वर्षीय नेपाली पुरुषमा २४ मार्चमा संक्रमण पुष्टि भएपछि भने देशव्यापी लकडाउन गर्ने अवस्थामा पुग्यो।
सुरुवाती दिनमा कोरोना संक्रमण सम्बन्धी पर्याप्त जानकारी थिएन। हल्लै हल्लामा सतर्कता अपनाउन र संक्रमण समुदाय स्तरमा फैलनबाट रोक्न भन्दै विना तयारी लकडाउन घोषणा गरेपछि मुलुक ठप्प भयो।
कोरोनाकै डरले मान्छे छेउ पर्नै डराउँथे, तर्किन्थे। हिजोसम्म सँगै बसेर चिया खाएको साथी मुख ढाकेर टाढा-टाढा बस्नुपर्ने अवस्था आइपुग्यो। साथीसङ्गीमा मात्र नभएर बाहिर गएर आउने परिवारकै मानिसलाई समेत शंकाको दृष्टिले हेर्ने समय आयो।
नेपालमा स्थानीय स्तरमा ४ अप्रिल, २०२० मा कैलाली जिल्लामा पहिलो कोरोना संक्रमित भेटियो। पहिलो, दोश्रो, तेश्रो, चौथो हुँदै बिस्तारै संक्रमण समुदाय स्तरसम्मै फैलियो।
विश्वव्यापी रूपमै संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सबैतिर लकडाउन हुन थाल्यो, रोजगारी गुम्न थाल्यो र वैदेशिक रोजगारीमा गएका नेपालीहरू स्वदेश फर्कन थाले। संक्रमित बढेसँगै मानिसको मृत्यु पनि बढ्यो।
मे १६, २०२० मा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्करी महिलाको मृत्यु भयो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ६ मेमा बच्चा जन्माएकी उनको मृत्युपश्चात कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भेटियो।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न चरणमा गरेर लगभग २५० दिनभन्दा बढी समय लकडाउन गर्यो। पटक-पटक गरेर विभिन्न चरणमा गरिएको लकडाउन औपचारिक रुपमा ५ मार्च २०२२ मा अन्त्य भएको घोषणा भयो।
चैत ११, २०८१ सोमबार १३:४८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।