बाघ बढ्दा बासस्थानको समस्या, विज्ञ भन्छन्- ‘देशभर पाँच सय बाघ राख्न सकिन्छ’

बाघ बढ्दा बासस्थानको समस्या, विज्ञ भन्छन्- ‘देशभर पाँच सय बाघ राख्न सकिन्छ’

चितवन : नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ।

निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ।

चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए।

विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए।

उनले भने, ‘हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।’

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ। बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो। बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताए।

पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो। नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताए।

उनले भने, ‘निकुञ्जको कोर क्षेत्रमा मात्र चार सय चार बाघ राख्न सकिने देखिन्छ।’

बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ। मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो।

चैत ११, २०८१ सोमबार ०९:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।