कुलेखानी जलविद्युतका तीन वटै युनिट पूर्ण क्षमतामा सञ्चालन

बागमती : मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्।
सुक्खायाम शुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो।
कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ।
‘आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ’, कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएका छन्।’
रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीले जानकारी दिए।
‘वर्षातको समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा हुन्छ’, सहायक इन्जिनियर बुढाथोकीले भने, ‘त्यतिबेला हामी ड्याममा पानी सञ्चित गरेर राख्छौँ र सुक्खायाम शुरू भएसँगै चलाउँछौँ।’
विद्युत भार व्यवस्थापन केन्द्रको आवश्यकतानुसार अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेको र आवश्यकता अनुसार चौबीसै घण्टा विद्युत् उत्पादन गर्न सकिने उनको भनाइ छ।
सहायक इन्जिनियर बुढाथोकीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ।
यो उत्पादन केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३४ हजार ३८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो।
चैत ११, २०८१ सोमबार ०९:०२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।