डेडिकेटेड र ट्रङ्क लाइन चलाउने उद्ध्योगीहरुको दाबी ‘लोडसेडिङ छैन भनेर विद्युत् प्राधिकरणले झुट बोल्यो’

काठमाडौं : पटक-पटक मूल्य बढाएर उपभोक्ता ठगी गरेको आरोप लागिरहेको सिमेन्ट र स्टिल उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ छैन भन्दै झुटो प्रचार गरेको दाबी गरे।
आइतबार नेपाल सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक सङ्घ र नेपाल धागो उत्पादक सङ्घले नेपालको औद्योगिक क्षेत्रमा सधैँ लोडसेडिङको अवस्था रहेको दाबी गरे।
संयुक्त पत्रकार सम्मेलनमा उनीहरूले सङ्घहरूले प्राधिकरणले २०७५ वैशाख ३१ मा नेपाल लोडसेडिङमुक्त भएको घोषणा गर्दा उद्योगीलगायतका सबै खुसी भएको तर लोडसेडिङ अन्त्यको सूचना यथार्थपरक र सत्य नभएको दाबी गरे।
उनीहरूले २०७५ देखि नै हरेक पटक उद्योगहरूमा हरेक महिनामा २ घण्टा ४ घण्टा, ६ घण्टा ७, ८, १० घण्टा गर्दै आएकोमा हाल २०८१ चैत्र देखि दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने गरेको दाबी गरे।
‘प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन। तालिका माग्दा लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागेको छ,’ विज्ञप्तिमा दाबी गरिएको छ।
सिमेन्ट उद्योग, स्टिल उद्योग र धागो लगायतका २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरूमा अघोषित लोडसेडिङ भई रहेको उनीहरूको दाबी छ।
हरेक वर्ष पुस-माघदेखि जेठको अन्त्यसम्म करिब ६ महिना पुरै लोडसेडिङ गरिएको उनीहरूको दाबी छ। उनीहरूले घरायसी लाइनमा लोडसेडिङ नहुने तर ट्रङ्क लाइन र डेडिकेटेड लाइनको थप कटौती गर्ने सूचना निकालेको भन्दै आपत्ति जनाएका छन्।
चैत १०, २०८१ आइतबार १८:२२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।