मधेसका मुख्यमन्त्रीको गोप्य भारत भ्रमणको विवादले मधेसको प्रदेश सभा अवरुद्ध, समिति गठनको माग

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह सरकारको अनुमति नै नलिई भारत भ्रमणमा गएको विषयले मधेस प्रदेशको सभा अवरुद्ध भएको छ।
आइतबार बैठक सुरु भए लगत्तै जनता समाजवादी नेपाल र प्रतिपक्षी माओवादी केन्द्रले मुख्यमन्त्रीले कूटनीतिक मर्यादा विपरीत काम गरेको भन्दै बैठक अवरुद्ध गराए।
बैठक सुरु भए लगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक संसद् अवरुद्ध गर्ने घोषणा गरेका थिए।
उनले मुख्यमन्त्री सिंहले कूटनीति मर्यादा विपरीत विदेश गएर गणतन्त्र विरोधी काम गरेको भन्दै जवाफ दिनुपर्ने माग राखे।
मुख्यमन्त्री सिंहले केन्द्रीय सरकार र प्रदेश सरकारलाई समेत जानकारी नै नदिई भारतको उत्तर प्रदेश गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट गरेका थिए। कानुन अनुसार प्रदेशको मुख्यमन्त्री विदेश भ्रमणमा जाँदा सङ्घीय सरकारको अनुमति लिनुपर्ने भए पनि उनी अनुमति नलिई व्यक्तिगत रूपमा भारत गएका थिए।
मन्त्रालयहरूमा कमिसन लिएर पालिकालाई सशर्त बजेट वितरण हुने गरेको पनि उनले आरोप लगाए।
संघका कर्मचारीसँग मोटो रकम लिएर कर्मचारीहरूलाई जिम्मेवारी दिने गरेको र महोत्तरीको टिकुलीया बजारमा केही दिन अघि भएको घटना लगायतका विषयहरूमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म अवरुद्ध गर्ने उनले चेतावनी दिए।
जसपा नेपालका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले बजेट निर्माण गर्ने समयमा मुख्यमन्त्री सिंहले घोषणा गरेको प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ कहाँ पुग्यो ? कसले पायो र कसले पाएन ? पायो भने त्यसैले के के काम भए लगायतका प्रश्न गरे।
उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्ने घोषणा गरे।
माओवादी र जसपा नेपालका सांसदहरूले संसद् अवरुद्ध पारेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित भएको जानकारी गराएका थिए। तर बैठक पुन सुरु हुन सकेको छैन।
चैत १०, २०८१ आइतबार १६:४८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।