गाउँका डाक्टर सुमनको उपचार अनुभव : महिलाको पाठेघरको उपचार गर्दा पिप बगेर अस्पताल नै दुर्गन्धित भयो

गाउँका डाक्टर सुमनको उपचार अनुभव : महिलाको पाठेघरको उपचार गर्दा पिप बगेर अस्पताल नै दुर्गन्धित भयो

६० वर्षीय डा. सुमन कर्माचार्यले चिकित्सकीय पेशाको करिब सबै समय रामेछापमा नै बिताए। रामेछाप लगायतका छिमेकी जिल्लाका गाउँ-गाउँमा गएर बिरामीको औषधि उपचार गर्नु उनको उदेश्य हो। अहिले पनि उनी रामेछापमा नै रमाएका छन्। उनै डा. सुमनले  दुर्गमका चिकित्सकीय अनुभव उकेरासँग साटेका छन्।

महिलाको पाठेघरबाट पिप बगेर अस्पताल नै दुर्गन्धित भएपछि...
प्रसङ्ग करिब १७ वर्षअघिको हो। डा. सुमन स्वास्थ्य शिविर लिएर उनको टिम ओखलढुंगाको रुम्जाटार पुगेका थिए। त्यो टिममा एक जना ‘एमडीजीपी’ विशेषज्ञ जर्मन महिला चिकित्सक पनि थिइन्। अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्ने काम सुरू भयो। करिब ६५ वर्षकी एक जना महिला पनि अस्पतालमा स्वास्थ्य जाँच तथा औषधि उपचारका लागि पुगिन्। ती महिलामा पाठेघर झर्ने समस्या थियो।

जर्मन डाक्टरले ती महिलाको पाठेघर झर्ने समस्या जाँच गर्न थालिन्। ती ६५ वर्षीय महिलाले पाठेघर नझरोस् भनेर पाठेघर नजिक ‘भजाइनल रिङ प्रेसरी’ राखेको करिब १२ वर्ष भइसकेको रहेछ। सिलिकनबाट बनेको गोलो आकोरको एक प्रकारको रिङलाई ‘भजाइनल रिङ प्रेसरी’ भनिन्छ। ‘भजाइनल रिङ प्रेसरी’ पाठेघर झर्ने समस्या भएका महिलाको पाठेघर नझरोस भनेर पाठेघरको नजिक राखिन्छ।

तर, राखेको लामो समय भएकाले ती ६५ वर्षीय महिलाको पाठेघर भित्र रिङ जेलिएर टाँसिएछ। अनि जेलिनुका साथै गलेर पाठेघरमा त पिपै बनिसकेछ। जर्मन चिकित्सकले ती महिलाको पाठेघर नजिक राखिएको त्यो टाँसिएको ‘भजाइनल रिङ प्रेसरी’ निकाल्न खोज्दा त ‘ह्वालह्वाल्ती गन्हाउने पिप’ पो बाहिर आयो। ती महिलाको पिपले अस्पताल नै दुर्गन्धित बन्यो।

महिला जर्मन डाक्टरले त्यस्तो घटना कहिल्यै देखेकी रहेनछिन्। त्यो घटनाले ती जर्मन डाक्टर आत्तिइन्। चिकित्सकको सबै टिम मिलेर त्यो टाँसिएको ‘भजाइनल रिङ प्रेसरी’ निकालेर घाउ सफा गर्यो। उपचारपछि ती महिला घर फर्किइन्। त्यो घटनापछि ती जर्मन डाक्टरले दुई दिनसम्म घिनले खाना समेत नखाएको डा. सुमनले सुनाए।

सापटी लिएको चुराले पाठेघर अड्याएकी ती महिला...
त्यसैगरी पाठेघर खस्ने समस्याकै उपचारका लागि ओखलढुंगामा स्वास्थ्य शिविर लिएर गएको १७ वर्षअघिको अर्को प्रसङ्ग पनि डा. सुमन कहिल्यै भुल्दैनन्।

पाठेघर खसेकी करिब ३५ वर्षकी महिला उपचार लागि स्वास्थ्य शिविरमा पुगेकी थिइन्। ती महिलाको परीक्षण तथा उपचारको क्रममा पाठेघर नजिक रबरको चुरा पो भेटियो।

सोधखोज गर्दै जाँदा ती महिलाले पाठेघर झर्नबाट रोक्न पाठेघरको नजिक लगाइने ‘भजाइनल रिङ प्रेसरी’को सट्टा रबरको चुरा लगाएकी रहिछन्, त्यो पनि चिकित्सकको परामर्शविना।

त्यो देखेर डा. सुमन छक्क परे। महिलाको पाठेघर नजिकै राखिएको त्यो चुरा चिकित्सकले निकाले। चुरा निकालेपछि ती महिलाले ‘ए नानी त्यो चुरा फलानोको हो, पखालेर राख् है, दिनुपर्छ’ भन्दै कोही आफन्तलाई अह्राइन्।

चुरा निकालेपछि चिकित्सकको टिमले ती महिलाको पाठेघर खस्न नदिन ‘भजाइनल रिङ प्रेसरी’ राखिदियो।

तर, पाठेघर खस्ने रोगले पीडित ती महिलाले पाठेघर झर्नबाट बचाउन चुरा समेत सापटी मागेर लिई पाठेघर अड्याउने कोशिस गरेको देख्दा डा. सुमनको मन अलि अमिलो भयो।

जन्म रामेछाप, आफ्नै बारेमा जान्न डाक्टर बन्ने रहर 
सुमन २०२१ मा रामेछापको रामेछाप नगरपालिका-३ साँघुटारमा मध्यमवर्गीय परिवारमा जन्मिए। स्थानीय श्री हिमगंगा माविबाट २०३६ मा एसएलसी गरेपछि उनले काठमाडौैं आउने निर्णय गरे। त्यतिबेला मोटरबाटो नभएकाले तीन दिनको हिँडाइपछि मात्र काठमाडौं आइपुगेको सुमन सम्झन्छन्।

काठमाडौंमा उनले त्रिचन्द्र कलेजबाट आइएस्सी गरे। सुमनलाई सानैदेखि श्वासप्रश्वासम्बन्धी ‘ब्रोङ्कीयल आस्थ्मा’को समस्या थियो। धुलोधुवाँ भयो कि उनलाई श्वासप्रश्वासमा समस्या भइहाल्थ्यो। आइएस्सी पढ्दा पनि यो समस्याका कारण उनी अस्पताल नै भर्ना हुनुपर्यो।

धुलोधुवाँको समस्याले गर्दा आइएस्सीपछि उनलाई काठमाडौंमा बस्न मन लागेन। त्यसैले उनी गाउँ नै फर्किए। त्यो बेला गाउँमा विज्ञान विषय पढाउने शिक्षक पाउन मुस्किल थियो। त्यसैले उनले आफैँ पढेको विद्यालयमा करिब एक वर्ष विज्ञान विषय पढाए।

तर, गाउँमा नै एक जना ‘हेल्थ असिस्टेन्ट’ले सुमनलाई ‘आफ्नै स्वास्थ्यबारे थाहा पाउन पनि हेल्थ असिस्टेन्ट पढ्न जाउ’ भन्ने सल्लाह दिए। त्यसपछि फेरि सुमन काठमाडौं आए अनि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा भर्ना भएर ‘सामान्य चिकित्सा’ विषय अध्ययन गर्न थाले। प्रवीणता प्रमाण-पत्र तहको यो विषयलाई ‘हेल्थ असिस्टेन्ट (एचए)’ पनि भनेर चिनिन्छ। 

तीन वर्षे ‘एचए’ अध्ययन सक्ने बित्तिकै सुमन २०४५ सालतिर आफ्नै गाउँ फर्किए। गाउँमा उनले स्थानीय स्वास्थ्यचौकीमा करार जागिरे भएर काम गर्न थाले। तीन महिनापछि त उनी लोकसेवामार्फत सरकारी स्थायी जागिरे भइहाले। त्यहाँ काम गर्दा पनि उनी बेलाबेलामा बिरामी परिरहन्थे। त्यो बेला उनले रामेछापमा करिब दुई वर्ष काम गरे। त्यसपछि काठमाडौंमा रहेको स्वास्थ्य सेवा विभागसँग उनले काज सरुवा मागेर २०४७ बाट भक्तपुर स्थित ‘राष्ट्रिय क्षयरोग केन्द्र’मा काम गर्न थाले।

एमबीबीएस अध्ययनसँगै राजनीतिको रस
त्यसो त सुमनलाई थप अध्ययन गर्नु छँदैथियो। त्यसैले भक्तपुरमा काम गर्दा नै उनले एमबीबीएस अध्ययनका लागि तयारी गरे। सुमन छनोट परीक्षामा सफल भए, अनि अध्ययन विदा लिएर २०४९ मा त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गर्न थाले। सोही ठाउँमा उनले तीन वर्ष एचए पढेका थिए।

सुमनलाई सानैदेखि राजनीतिमा खुब चासो थियो। एमबीबीएस पढ्दा पनि उनलाई राजनीतिको खुब नसा चढ्यो। १४ वर्षको उमेरमा स्कुल पढ्दै नेविसंघको सदस्य भएका सुमनलाई १८ वर्षमा कृष्ण प्रसाद भट्टराईले कांग्रेसको सदस्य बनाएका थिए।

हेल्थ असिस्टेन्ट पढ्दा नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कोषाध्यक्ष भएका उनी एमबीबीएस अध्ययन गर्दा महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्ववियु सभापति भए। त्यो बेला हेल्थ असिस्टेन्ट पढेकाले एमबीबीएस अध्ययन गर्न पाउनुपर्छ भन्ने विषयमा आफ्नो नेतृत्वको विद्यार्थी संगठनले आन्दोलन नै गर्नुपरेको उनी सम्झन्छन्।

त्यसो त सरकारी जागिरे भएकै बेला २०४६ को आन्दोलनमा पनि आफूले सक्रियताका साथ पञ्चायत विरोधी आन्दोलन गरेको सम्झन्छन्, उनी। उनलाई राजनीतिको नसा यस्तो थियो की, त्यो बेला आन्दोलन गर्दा सरकारी जागिर जाला भन्ने कत्ति पनि डर थिएन रे! तर, जागिर गएन। २०५५ मा सुमनको एमबीबीएस अध्ययन सकियो र उनी डाक्टर बने।

सरकारी जागिर छोडेर गाउँमै रमाए
सुमनलाई गाउँ छाड्न भने मन लागेकै थिएन। एमबीबीएस अध्ययन गर्दा पनि छुट्टीको समयमा रामेछापमा बिरामीको औषधि उपचार गर्न पुगिहाल्थे उनी।

रामेछापको सदरमुकाम मन्थलीमा साहित्यकार जगदिश घिमिरेले ‘तामाकोशी सेवा समिति’ नामको संस्था बनाएका रहेछन्। घिमिरेकै समन्वयमा एमबीबीएस पढ्दादेखि नै उनले पनि त्यो संस्थामा आबद्ध भएर गाउँगाउँ घुमेर बिरामीको औषधि उपचार गर्थे, उनी।

डा. सुमनलाई जगदिशले नै सरकारी जागिर नखान सुझाएछन्। तर, उनलाई एमबीबीएसपछि गाउँमै रहेर सरकारी जागिर गर्ने इच्छा थियो। सोही अनुसार डा. सुमनले आफूलाई रामेछापमा पोस्टिङ गरिदिन स्वास्थ्य मन्त्रालयमा अनुरोध गरे।

तर, मन्त्रालयका कर्मचारीले उनलाई रामेछापको साटो उदयपुरको कटारी पठाइदिए। चाहेको ठाउँमा जान नपाएपछि डा. सुमनले सरकारी जागिर छोडेर मन्थलीको ‘तामाकोशी सेवा समिति’मा आबद्ध भएर काम गर्न थाले। हाल उनी समितिले सञ्चालन गरेको तामाकोसी अस्पतालमा कार्यरत छन्।

त्यो बीचमा डा. सुमनले ललितपुरको सानेपामा रहेको ‘नेश्नल ओपन कलेज’मा स्नातकोत्तर तहको दुई वर्षे ‘हेल्थ केयर मेनेज्मेन्ट’ विषयको अध्ययन समेत गरे। उनले सन् २००६ मा यो विषयको अध्ययन सके। जसले गर्दा अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनको काम गर्न थप सहज भयो।

त्यसैगरी उनले सुरक्षित गर्भपतनका साथै चिकित्सा शास्त्रका विभिन्न तालिम लिएका छन्। बिरामीको उपचार, स्वास्थ्यसँग सम्बन्धीत अध्ययन अनुन्धान गर्नु र शैक्षिक काम गर्नु डा. सुमनको दैनिकी हो। जीवनभर रामेछापमै रहेर स्थानीयको सेवा गर्ने उनको इच्छा छ।

गीत संगीतका पारखी उनी फुर्सदको समयमा गीत र कविता लेख्छन्। उनका गीत कम्पोज समेत भएका छन् भने विभिन्न मिडियामा कविता तथा लेख प्रकाशित छन्। यस्तै कृतिको संगालो समेत पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी भइरहेको उनले सुनाए। त्यसैगरी उनका ‘आत्महरु बुद्ध भए’ र ‘देश दुखेको बेला’ शीर्षकका दुई कविता संग्रह प्रकाशित छन्।

गाउँ-गाउँमा वर्थिङ सेन्टर, सेना र माओवादीको चेपुवा
सुरुवाती दिनमा रामेछाप लगायतका गाउँ-गाउँ घुमेर विशेषगरी महिलाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गरेको सम्झन्छन्, डा. सुमन। केही वर्षअघिसम्म मात्रै पनि महिलाहरूलाई आइरन चक्की बाँड्ने र परिवार नियोजनको सुई दिने लगायतका औषधि वितरणको कामलाई गाउँमा ठूलै मानिन्थ्यो।

रामेछापमा त्यो बेला गाउँ-गाउँबाट कयौं महिलाहरू सुत्केरी हुन नसकेर छटपटाउँदै आएको सम्झन्छन्, उनी। अहिले भने बिस्तारै यस्तो समस्या कम हुँदै गएको डा. सुमनको अनुभव छ। हिँडेर पुगिने प्रत्येक तीन घण्टाको फरकमा जिल्लामा १२ वटा ‘बर्थिङ सेन्टर’ बनाएको सम्झन्छन्, उनी। ती बर्थिङ सेन्टर समुदायलाई नै सञ्चालनका लागि जिम्मा दिइएको थियो।

ती सेन्टरहरूमा कहिले तत्कालीन विद्रोही माओवादी उपचारका लागि पुग्थे त कहिले सेना पुग्थे। दुवै पक्षले औषधि माग्थे। तर, माओवादीहरूले ‘सेनालाई किन औषधि दियौ?’ भनेर स्वास्थ्यकर्मीलाई गाली गर्थे अनि सेनाले ‘माओवादीलाई किन औषधि दियौ?’ भनेर गाली गर्थे।

दुवै पक्षको चेपुवामा परेर स्वास्थ्यकर्मीहरू असुरक्षित भएको महसुस हुन थाल्यो। त्यसपछि तत्कालीन माओवादी र सरकार पक्षबीचको द्वन्द्वकालमा गाउँ-गाउँमा पुर्याएको वर्थिङ सेन्टर नै हटाउनुपरेको तीतो अनुभव सम्झन मन लाग्दैन डा. सुमनलाई।

आजभन्दा केही वर्ष अघिसम्म पनि गाउँ-गाउँ पुग्दा पाठेघर खस्ने समस्याले धेरै महिलाहरू पीडित भएको भेट्थे, डा. सुमन। गाउँमा स्वास्थ्य परीक्षण गर्न पुग्दा तीन जना महिलाको स्वास्थ्य जाँच गर्दा एक जनालाई त पाठेघर खस्ने समस्या भेटिन्थ्यो। धेरैमा हुने समस्या भएकाले महिलाहरूले पाठेघर झर्ने समस्यालाई सामान्य रूपमा समेत लिन्थे। त्यसैले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगाल लगायतलाई भनेर रामेछापमा महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया तथा औषधि उपचार गरेको डा. सुमन सम्झन्छन्।

रामेछापमा विभिन्न विशेषज्ञ चिकित्सक लगेर सन् २००३ देखि सन् २०१४ सम्म करिब ११ वर्षको अवधिमा पाँच सय भन्दा धेरै महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया गरेको उनले सुनाए। त्यसो त डा. सुमन ओखलढुंगाका रुम्जाटार लगायत गाउँगाउँमा स्वास्थ्य शिविर लगेर डेढ महिनामा करिब पाँच सय महिलाको पाठेघर खस्ने समस्याको शल्यक्रिया तथा उपचार गरेको सम्झन्छन्।

‘अस्पताल नै बिरामी भएको ठाउँमा पुग्नुपर्छ’ 
डा. सुमन ‘अस्पतालमा बिरामी पुग्ने हैन, अस्पताल नै बिरामी भएको ठाउँमा पुग्नुपर्ने’ तर्क गर्छन्। अस्पतालले किराना पसलजस्तो पसल थापेर बस्न नहुने उनको तर्क छ। तर, अहिले अस्पतालहरू अस्पतालमा पुगेका बिरामीलाई मात्रै उपचार गर्ने पसलजस्ता भएको उनी बताउँछन्।

चिकित्सक तथा स्वास्थ्यकर्मी गाउँ-गाउँमा पुग्नुपर्ने र आधुनिक चिकित्सा सेवा गाउँगाउँ पुर्याउनुपर्ने डा. सुमनाको सुझाव छ। अहिले पनि डा. सुमन पोर्टेबल अल्ट्रासाउण्ड मेसिन झोलामा बोकेर गाउँ-गाउँ पुग्छन्। अनि यस्तो मेसिनले गर्भवतीलगायतका महिलाको स्वास्थ्य परीक्षण गर्छन्।

सात सय भन्दा कम खर्च लाग्ने भिडियो एक्स-रे गर्न गर्भवती महिलाहरू गाउँबाट ४/५ हजार खर्च गरेर अस्पताल पुग्नुपर्ने बाध्यता अझै रहेको उनले सुनाए।

चैत ९, २०८१ शनिबार १४:१२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।