५७ बोरा गाँजासहित झापाबाट दुई जना पक्राउ
बनियानी : सशस्त्र प्रहरी बलले १६ सय ३६ किलो गाँजासहित झापाबाट दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका-४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँका अनुसार पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका-४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका-२ का गङ्गाबहादुर बस्नेत रहेका छन्।
प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो। प्रहरीले उनीहरूको साथबाट ८७ हजार रुपैयाँ र पाँच थान मोबाइल समेत बरामद गरेको छ।
उनीहरूलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।
चैत ९, २०८१ शनिबार ११:५७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।