अन्तरिक्ष यात्री बच विल्मोर र सुनी रहेको क्याप्सुल जब समुन्द्रमा खस्यो डल्फिनले घेरा हाले

एजेन्सी : स्पेसएक्स क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, त्यसपछि चार प्यारासुट खुल्यो। फ्लोरिडाको तटमा क्याप्सुल झरे लगत्तै वरिपरि डल्फिनहरूको एउटा समूह घुमिरहेको थियो।
आठ दिनका लागि भनेर अन्तरिक्ष गएका नासाका अन्तरिक्ष यात्री बच विल्मोर र सुनी विलियम्स नौ महिना अन्तरिक्षमा बिताएर बुधवार पृथ्वीमा यसरी फर्किए।
जहाजले यानलाई पानीबाट बाहिर निकालेपछि, अन्तरिक्ष यात्री निक हेग र कोस्मोनट अलेक्जाण्डर गोर्बुनोभसहित अन्य चालक दलका सदस्यहरूले बच र सुनीलाई स्वागत गरे। उनीहरू मुस्कुराउँदै र हात हल्लाउँदै ह्याचबाट बाहिर निस्किए।
‘चालक दल राम्रो अवस्थामा छ,’ नासाको कमर्शियल क्रु प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले एक प्रेस कन्फ्रेन्समा भने।
यो मिसन आठ दिनको थियो। तर नौ महिना लामो रह्यो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (ISS) जान प्रयोग गरेको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि उनीहरूको बसाइ लम्बियो। पृथ्वीमा कहिले फर्कने निश्चित भएन। अन्ततः उनीहरू फर्किन सफल भए।
घर फर्कने यात्रा १७ घण्टा लामो थियो। भारहीन वातावरणमा लामो समय बिताएकाले, अन्तरिक्ष यात्रीहरूलाई स्ट्रेचरमा राखेर सघाइएको थियो। मेडिकल परीक्षणपछि, उनीहरू आफ्ना परिवारसँग मिल्नेछन्।
‘सबैभन्दा महत्त्वपूर्ण पक्ष परिवार र साथीभाइसँग पुनर्मिलन हो। तिनीहरूले क्रिसमस घरमै मनाउने आशा गरेका थिए, तर त्यो सम्भव भएन,’ बेलायतकी पहिलो अन्तरिक्ष यात्री हेलेन शर्मनले भनिन्।
OOO
बच र सुनीको अन्तरिक्ष यात्राको कथा सन् २०२४ मा सुरु भएको थियो। उनीहरू बोइङद्वारा विकसित स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक दल परीक्षण उडानमा थिए।
तर, प्राविधिक समस्याहरूका कारण स्टारलाइनरलाई पुनः पृथ्वीमा फर्काउन सम्भव भएन। त्यसैले, उनीहरूलाई सुरक्षित रूपमा फर्काउन नासाले ISS मा रहेका स्पेसएक्सको क्याप्सुल प्रयोग गर्यो।
नासाले स्पेसएक्स ड्रागन क्याप्सुलको अर्को नियोजित उडानलाई परिमार्जन गर्यो। जसले गर्दा दुई सिट खाली राखेर, बच र सुनीलाई घर फर्काउने योजना बनाइयो।
तर, सो क्याप्सुलको मिसन अवधि छ महिनाको थियो। जसका कारण उनीहरू अन्तरिक्षमा अनुमान गरेभन्दा धेरै समय बिताउन बाध्य भए।
बसाई लम्बिएपछि यी दुई अन्तरिक्ष यात्रीहरूले आफ्नो समय प्रयोगात्मक अनुसन्धान र अन्तरिक्ष भ्रमणमा बिताए। सुनी विलियम्सले ISS बाहिर सबैभन्दा धेरै समय बिताउने महिलाको रेकर्ड तोडिन्। क्रिसमसका अवसरमा, अन्तरिक्ष यात्रीहरू सान्ता टोपी र हरिण सिंगहरू लगाएर उत्सव मनाए।
कयौंले तिनीहरूलाई ‘अलपत्र परेका’ भने पनि, प्राविधिक रूपमा उनीहरू सुरक्षित थिए। ISS मा आपत्कालीन अवस्थाका लागि सधैँ एउटा अन्तरिक्षयान जोडिएको हुन्छ।
अब उनीहरू घर फर्किसकेका छन्। छिट्टै नै टेक्सासको ह्युस्टनस्थित जोनसन स्पेस सेन्टरमा, मेडिकल परीक्षण र पुनः अनुकूलन प्रक्रियाका लागि लैजाने तयारी भइरहेको छ।
अन्तरिक्ष यात्राले शरीरमा महत्त्वपूर्ण प्रभाव पार्छ। हड्डीको घनत्व घट्छ, मांसपेशी क्षय हुन्छ, रक्त सञ्चार प्रणाली प्रभावित हुन्छ, र तरल पदार्थको पुनः वितरणले दृष्टि समेत प्रभावित पार्न सक्छ।
त्यसैले, गुरुत्वाकर्षणमा पुनः अनुकूलनका लागि अन्तरिक्ष यात्रीहरूलाई कडा व्यायाम कार्यक्रम दिइनेछ।
बेलायती अन्तरिक्ष यात्री टिम पिकका अनुसार, ‘पृथ्वीमा फर्केको केही दिन निकै कठिन हुन सक्छ। तपाईँको शरीरलाई गुरुत्वाकर्षणमा फर्किन समय लाग्छ।’
चैत ६, २०८१ बुधबार २२:४६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।