प्रधानमन्त्री कपमा पुलिसको छैटौं जित, दीपेन्द्रको आक्रामक अर्धशतकीय पारी

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्बलले छैटौं जित निकालेको छ। गण्डकी प्रदेशलाई सात विकेटले हराउँदै जारी प्रतियोगितामा पुलिसले छैटौं जित निकालेको हो।
९३ रनको झिनो लक्ष्य पछ्याएको पुलिसले १६ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ५४ रनको अर्धशतकीय र आक्रामक पारी खेले।
त्यसका अलावा दिलिप नाथले १० रन बनाउँदा अर्जुन साउदले १८ रन जोडे। गण्डकीका पिपिन खत्री र सुवास भण्डारीले समान एक–एक विकेट लिए।
त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङमा आएको गण्डकीले २३.२ ओभरमा अलआउट हुँदै ९२ रन मात्र बनाउन सक्यो।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाउँदा रोहित चन्द र सुवास भण्डारीले समान १०–१० रन जोडे। पुलिसका बलरले अतिरिक्त १४ रन खर्चिए।
पुलिसको तर्फबाट बलिङ गरेका ललितले पाँच विकेट लिए भने गुल्सन झाले चार विकेट हात पारे।
जारी प्रधानमन्त्री कपमा ललित राजवंशीको लगातार चौथो खेलमा पाँच विकेट लिएका हुन् भने प्रधानमन्त्री कपमा उनको छैटौं पटक पाँच विकेट लिएका हुन्।
जितसँगै पुलिस छ खेलमै विजयी भएर १२ अंकसहित पहिलो स्थानमा रहँदा छ मध्ये एक खेलमा मात्र विजयी गण्डकी दुई अंकसहित तालिकाको पुच्छारमा छ।
चैत ६, २०८१ बुधबार १२:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।