नेप्से तेस्रो दिन पनि घट्यो, कारोबार रकम ४ अर्ब ३४ करोड

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन मंगलबार पनि ओरालो लाग्यो। मंगलबार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को बिन्दु कायम भयो।
अघिल्लो साता पनि नेप्से परिसूचक लगातार घटेको र अन्तिम कारोबार दिन मात्र केही अंकले सुधार भएको थियो। तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको हो।
मंगलबार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर ५० हजार ८३४ पटक खरिदबिक्री हुँदा रु. ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैङ्किङ समूह ०.१४, विकास बैंक ०.४२, वित्त ०.१७, होटेल तथा पर्यटन ०.३६, जलविद्युत् ०.१७, लगानी ०.४२ र जीवन बीमा समूह ०.७० प्रतिशतले घटेको हो।
त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.२३, लघुवित्त ०.३१, म्युचुअल फन्ड ०.३७, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घटेको छ।
मंगलबारको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगबलार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ११ लाख १७ हजार ८९२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ७ लाख ६८ हजार ५४३ कित्ता शेयर किनबेच भएको छ।
चैत ५, २०८१ मंगलबार १८:३८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।