२५ करोड सहित समातिएका ट्रक चालक लामा 'सुन भरिया', अमेरिकी डलर र युरोको स्रोत खुलेन

काठमाडौं : सोमबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयमा सूचना आउँछ- एउटा ट्रक झोरको बाटो हुँदै रसुवा जाँदैछ। त्यसमा अवैध विदेशी मुद्रा हुनसक्छ।’
सूचनाको आधारमा तत्काल कार्यालयको सादा पोशाकका प्रहरी टोली ‘मुभ’ भइहाले। सूचनामा उल्लेख भए अनुसार जुन लोकेशन भनिएको हो त्यहाँ प्रहरी टोली पुग्दा झोर महांकालमा बा ७ ख १६२५ नम्बरको ट्रक देखियो। उनीहरूले बेलुका ११ बजे रोके।
ट्रकमा चालक मात्र देखिन्छन्। चालक देखिए सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामा। उनीसँग सोध्दा उनले ‘सामान लिन रसुवा जान लागेको’ भन्छन्। सडकमा धेरै सोधपुछ गर्ने माहौल हुँदैन। त्यसमा पनि चालक एक्लै। उनीहरूले ‘प्रहरी कार्यालय हिँड’ भनेर गाडी मोड्न लगाउँदै टेकुमा रहेको कार्यालयको परिसरमा ट्रक ल्याउँछन्।
सुन लगायतका अवैध सामान यस्ता ट्रकमा फल्स बटम बनाएर लुकाउने गरेकोबारे अनुसन्धानमा खटिएका प्रहरी टोलीका सदस्य जानकार नहुने कुरै भएन। कतै बोनटतिर पो राखेको छ कि भनेर खोतलखातल गर्न थाल्यो। त्यही पोकाहरू फेला पर्यो।
प्रहरीले पोका निकालेर नजिकैको कार्यालयमा लगेर खोल्दा देखियो अमेरिकी डलर र युरो। प्रहरीको टोली नै लागेर गन्न थाल्दा मात्रा निस्क्यो १३ लाख ७४ हजार १ सय ५० युरो अनि ३ लाख २० हजार ८ सय १५ अमेरिकी डलर।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतले सोमबार बेलुका फेला परेको रकम अहिलेसम्म बरामद भएका अवैध विदेशी मुद्रामा सबैभन्दा ठूलो भएको दाबी गरे।
सुनको भरिया देखिए चालक लामा
ट्रक चालक कुसाङ यसअघि २०७३ पुस १३ गते चीनबाट सात केजी सुन नेपाल भित्र्याएको अवस्थामा पक्राउ परेका थिए। उनलाई त्यस बेलामा राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो।
पक्राउ परेका चालकले बयानमा अन्य दुई जना व्यक्तिले सामान पुर्याइदिन आग्रह गरेको र सोहीअनुसार लैजान लागेको दाबी गरेका छन्। अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार लामाले अहिले दिएको बयानमा आफूलाई भरिया बताइरहेका छन्। पहिलाको अनुसन्धान र अहिलेको घटनाक्रमलाई नियाल्दै यसबारे अनुसन्धान अगाडि बढाएको पत्रकार उनले सम्मेलनमा बताए।
सो रकम कहाँबाट आयो र कुन प्रयोजनका लागि रसुवा लैजाने प्रयास भएको हो भन्ने खुलिसकेको छैन। टार्गेट क्षेत्र नेपाल-तिब्बत नाका रहेको रसुवा भएकाले यसमा चिनिया नागरिक संलग्न रहेको शंका बलियो देखिन्छ।
यस अगाडि यसरी नै अवैध विदेशी मुद्रासहित पक्राउ पर्ने अधिकांश चिनियाँहरूको अनुसन्धानमा उनीहरूले अवैध रूपमा जम्मा गरेको रकम चीन भित्र्याउन स्थलमार्गको प्रयोग गर्ने गरेको खुलेकाले सोमबार मध्यरात बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको स्रोत समेत गम्भीर अपराध रहेको देखिन्छ।
प्रहरीले लामाको संलग्नता अवैध सुन ओसारपसारमा रहेको पुष्टि भएकाले सो रकम सुन किन्नकै लागि गएको शंका गरेको छ।
चैत ५, २०८१ मंगलबार १५:१०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।