प्रधानमन्त्री कप : बागमतीले गण्डकीलाई २८९ को लक्ष्य दियो, कर्णालीले बनायो २१९ रन

प्रधानमन्त्री कप : बागमतीले गण्डकीलाई २८९ को लक्ष्य दियो, कर्णालीले बनायो २१९ रन

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज भइरहेको खेलमा तीन खेलाडीको अर्धशतकको मद्दतमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २८९ रनको लक्ष्य दिएको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २८८ रन बनाएका हुन्।

उसका लाग इशान पाण्डे, विपिन आचार्य र शुभ कंशाकारले क्रमशः ६९, ६३(अविजित) र ५२ रनको अर्धशतकीय पारी खेले। विवेक मगर ३४ रनमा आउट हुँदा कप्तान पृथु बास्कोटा १६ र आशुतोष गिराहिया १४ रनमा आउट भए। रिजन ढकाललले नटआउट २३ रन जोडे।

बलिङमा गण्डकीका अर्जुन कुमालले चार, सुवास भण्डारी र विपिन खत्रीले समान दुई–दुई विकेट लिए।

उता तिलोत्तमामा भइरहेको खेललमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २१८ रन बनायो।

उसका लागि अर्जुन घर्तीले ८८ रनको अर्धशतकीय पारी खेल्दा हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन जोडे।

कोशीका विपिन महतोले तीन तथा दिपेश कँडेल र प्रकाश कार्कीले समान दुई–दुई विकेट लिए।

गण्डकी र कोशी अहिले जवाफी ब्याटिङ गरिरहेका छन्।

चैत ५, २०८१ मंगलबार १३:११:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।