फर्म हराएका कप्तान, पाँच खेलमा जम्मा ५१ रन

फर्म हराएका कप्तान, पाँच खेलमा जम्मा ५१ रन
सबै तस्बिर- नेपाल क्रिकेट संघको फेसबुकबाट

काठमाडौं : नेपाली पुरुष क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता ‘प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट’ लुम्बिनी प्रदेशमा जारी छ। यस पटक पूर्ण रुपमा काठमाडौंबाहिर भएको प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)ले रुपन्देहीका दुई र दाङका एक गरी तीन मैदानमा गरिरहेको छ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्यहरू पनि छन्। चोटका कारण केही खेलाडी बाहिर रहे पनि अधिकांशले खेलिरहेकै छन्।

तीन विभागीय र सात प्रादेशिक गरी १० टोलीबीच भइरहेको प्रतियोगितामा राष्ट्रिय टोलीका अधिकांश सदस्य विभागीय टोलीमा छन्। जसले गर्दा विभागीय टोली प्रादेशिक टोलीभन्दा केही बलिया देखिएका छन्। यद्यपि नाम चलेका राष्ट्रिय खेलाडीहरू नै प्रतियोगितामा हावी हुन सकिरहेका छैनन्।

सशस्त्र प्रहरीको एपीएफ क्लबका कप्तान रोहित पौडेल, एपीएफकै आशिफ शेख, त्रिभुवन आर्मी क्लबका भीम सार्की र कुशल मल्ल, नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी लगायतका राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले प्रतियोगितामा सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन्।

त्यसमा पनि अझ राष्ट्रिय टोलीको समेत कप्तान रहेका एपीएफका कप्तान पौडेलका पछिल्ला पाँच खेलको तथ्यांक केलाउँदा उनका समर्थक समेत उदेक मान्छन्। 

जारी प्रतियोगितामा पहिलोदेखि पाँचौं खेलसम्म रोहितले क्रमशः ८, ११, ६, २२ र ४ रन बनाएका छन्। पछिल्ला पाँच खेलमा रोहितले बनाएका सबै रन जोड्दा बल्ल ५१ रन पुग्छ। पाँचमध्ये तीन खेलमा स्पिनरबाट आउट भएका उनी दुई खेलमा भने पेश बलरको सिकार भएका छन्।

एपीएफले पनि पाँचमध्ये तीन खेलमा मात्र जित निकाल्न सकेको छ। दुई विभागीय टोलीसँग पराजित भएको एपीएफले तीनमध्ये दुई प्रादेशिक टोलीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। त्यो संघर्षपूर्ण जितमा पनि रोहितले ब्याटबाट टोलीलाई माथि उठाउन सकेनन्। जारी प्रधानमन्त्री कपका पाँच खेलमा कसरी खेले त उनले, आउनुहोस् जानौंः

नन्दनको पेसमा सूर्यको क्याच
फागुन २५ गते तिलोत्तमाको एक्ट्राटेक ओभल क्रिकेट रंगशालामा बागमती प्रदेशविरुद्ध पहिलो खेलमा रोहितको नेतृत्वमा टोलीले जित त निकाल्यो। तर, कप्तानकै ब्याटिङ खास रहेन। उनले त्यो खेलमा १५ बल खेलेर मात्र ८ रन बनाए।

नन्दन यादवले शरीरमा गरेको बललाई उठाएर खेल्ने क्रममा रोहितले स्क्वायरमा रहेका फिल्डर सूर्य तामाङलाई सहज क्याच थमाउन पुगे। ४४ ओभरमा १७४ रनमा अलआउट भएको एपीएफलाई त्यो दिन कमलसिंह ऐरीले बचाए।

सुरुमै दुई विकेट लिएका ऐरीलाई अबिनास बोहराले तेस्रो विकेट लिएर साथ दिए। रोहितले पनि व्यक्तिग दुई विकेट लिँदा बागमतीलाई ७४ रनमा समेट्दै एपीएफले १०० रनले पहिलो खेल जित्यो।

कमलको स्पिनमा फसेपछि...
फागुन २९ गते लमहीको देउखुरी क्रिकेट रंगशालामा मधेश प्रदेशविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको थियो एपीएफ। त्यो दिन पनि रोहितका लागि खास हुन सकेन। २१ बलमा दुई चौकाको मद्दतमा ११ रन बनाएका उनी कमल गुप्ताको स्पिनलाई स्वीप गर्ने क्रममा डिपमा रहेका पिल्डर राजेश यादवबाट आउट हुन पुगे।

उनीपछि ब्याटिङमा आएका सन्दीप जोरा पनि नौ रन बनाएर आउट भए। टोलीलाई सुमित महर्जन, अमरसिंह रौटेला र कमलसिंह ऐरीले जोगाएर जितसम्म पुर्याए। उनीहरूले क्रमशः ३५, १६ र २८ रन जोडे।

९४ रनमा टोली नै अलआउट
चैत १ गते लमहीमै भएको तेस्रो खेलमा नेपाल पुलिस क्बलविरुद्ध सुरुवाती ब्याटिङमा उत्रिएको एपीएफ २७.४ ओभरमा ९४ अलआउट भयो। यो खेलमा रोहित मात्र होइन अन्य खेलाडी पनि चल्न सकेनन्।

खेलमा कप्तान रोहितले ११ बलमा ६ रन बनाउँदा गुल्सनको बलको गति अन्दाज गर्न सकेनन् अनि ब्याट र प्याडको बीचबाट छिर्नपुग्यो बल। उनी बोल्डआउट भए। खेलमा भुवन कार्कीले तीन र रोहित पौडेलले दुई विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन र एपीएफले प्रधानमन्त्री कपमा पहिलो हार बेहोर्यो।

सुरुवात पाउँदा पनि ठूलो स्कोर बनाउन चुके
चैत ३ गते भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा कर्णाली प्रदेशविरुद्ध आफ्नो चौथो खेलमा १९० रन पछ्याउने क्रममा पनि रोहित चुके। दिवान पुनको स्पिनमा आउडसाइड एज लागेर प्रकाश जैसीको हातबाट क्याचआउट हुन पुगे उनी। त्यतिबेला उनी ३४ बलमा तीन चौकाको मद्दतमा २२ रन बनाएर खेलिरहेका थिए।

जारी प्रतियोगितामा यो २२ रन नै उनको सर्वाधिक स्कोर हो। टोलीका लागि तेस्रो ब्याटरको रूपमा ब्याटिङ गर्न आएका उनले केहीबेर विकेटमा टिके पनि २२ रनको स्कोरलाई ठूलो बनाउन सकेनन्।

८६ बलमा पाँच विकेट गइसकेको अवस्थाबाट टोलीलाई दीपक बोहरा र सुमित महर्जनले जितसम्म डोर्याए। उक्त खेलमा दीपकले ६७ बलमा ७० रनको पारी खेल्दा सुमितले ५३ बलमा ३४ रन जोडे।

पाँचौं खेलमा पनि सिकेनन् पाठ
लगातार चार खेलमा रन नबनेको अवस्थामा रोहितले जिम्मेवारी लिएर खेल्नुपर्ने थियो। तर, चैत ४ गते तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा त्रिभुवन आर्मी क्लबविरुद्ध सुरुवाती ब्याटिङ गर्ने क्रममा पनि उनले अगाडिको चुकबाट पाठ सिक्न सकेनन्।

११ रनमा दुई विकेट गुमेपछि ब्याटिङमा आएका रोहित सम्हालिएर खेल्न नसक्दा आकाश चन्दको बलमा मिड अनमा इमरान शेखबाट क्याचआउट हुन पुगे। १७ बलमा ४ रन मात्र बनाउन सके उनले।

लोकेस बम र आशिफ शेख आउट भइसकेको अवस्थामा ब्याटिङ गर्न आएका उनले क्रिजमा केही समय बिताउनुपर्ने थियो। तर उनी क्रिजमा अगाडि बढेर ठूला सट खेल्न तम्सिरहेका देखिन्थे।

०००

गत नोभेम्बर र डिसेम्बरमा काठमाडौंमा भएको नेपाल प्रिमियर लिगका सवोत्कृष्ट ब्याटरमध्ये एक हुन् रोहित। लिग चरणका खेल सकिँदा सर्वाधिक रन बनाएका थिए उनले। लिग चरणका सात खेल सकिँदासम्म रोहितले ४० रनको औसतमा २७९ रन बनाएका थिए। प्रतियोगिताको सर्वाधिक रन बनाउने लाहिरु मिलान्थाभन्दा उनी १३ रनले मात्र पछाडि थिए, जबकी लाहिरुले १० खेलमा ब्याटिङ गरेका थिए।

उसो त रोहित नेपाल प्रिमियर लिगपछि पहिलो पटक क्रिकेट खेल्दैछन्। करिब तीन महिना उनी विश्रामममा रहे। लामो समयपछि मैदान फर्कँदा उनी एक रत्ति पनि लयमा देखिएका छैनन्। नेपाल प्रिमियर लिगमा त्यति राम्रो ब्याटिङ गरेका उनी अहिले पनि टी२० कै ह्याङमा देखिन्छन्। जसको असर ब्याटिङमा पर्नाले उनको ब्याटबाट रन आइरहेको छैन। बलिङतर्फ उनले पाँच खेलमा नौ विकेट मात्र लिन सकेका छन्।

एपीएफ र रोहित आफ्नै लागि मात्र नभएर राष्ट्रिय टिमकै लागि पनि रोहित फर्ममा आउनु अनिवार्य छ। फर्ममा हुँदा उनी राम्ररी क्रिजमा टिकेर खेल्ने खेलाडी हुन्। व्यक्तिगत स्कोरभन्दा पनि टिमका लागि खेल्ने खेलाडीको रूपमा चिनिन्छन् उनी। कयौं पटक उनले टोलीका लागि भनेर आफ्नो व्यक्तिगत सफलतालाई समेत वास्ता गरेका छैनन्।

प्रधानमन्त्री कप लगत्तै देशभित्रै ‘नेशनल टी२० च्याम्पियसिप’ हुँदैछ भने त्यसपछि नेपालले विश्पकप क्रिकेट लिग२ का खेलहरू खेल्नुपर्ने छ। लिग-२ को अंकतालिकामा अहिले पुच्छारबाट दोस्रो स्थानमा रहेको छ नेपाली टोली। यस्तो अवस्थामा रोहित लगायत राष्ट्रिय टोलीका अन्य सदस्य पनि फर्ममा आउनु जरुरी छ।

चैत ५, २०८१ मंगलबार ०८:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।