अदालतको आदेश अटेर गर्दै ट्रम्पले निकाले २६१ भेनेजुएली नागरिक, फिर्ता बोलाउने आदेश पनि टेरेनन्

अदालतको आदेश अटेर गर्दै ट्रम्पले निकाले २६१ भेनेजुएली नागरिक, फिर्ता बोलाउने आदेश पनि टेरेनन्

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार २६१ भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा पठाएका छन्।

अमेरिकाले ‘एलियन एनिमी एक्ट’ अन्तर्गत उनीहरूलाई लागूपदार्थ बेच्ने गिरोहका सदस्य भन्दै कारबाही गरिएको हो।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएला गिरोह ‘ट्रेन डे अरागुआ’का २३८ र अन्तर्राष्ट्रिय गिरोह एमएस-१३ का २३ सदस्य आइतबार बिहान त्यहाँ आइपुगेको पुष्टि गरेका छन्।

यी मानिसहरूलाई देश निकाला गर्ने आदेशलाई अदालतले रोक लगाए पनि ट्रम्प प्रशासनले त्यसलाई अटेर गरेको हो।

ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार अदालतको आदेश आउनुअघि नै उडानहरूले उडान भरिसकेका थिए।

राष्ट्रपति नायिब बुकेलेले यी व्यक्तिहरू एल साल्भाडोर पुगेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्। यसमा, हथकडी लगाएका मानिसहरूलाई उडानबाट जबरजस्ती ओरालेर जेल लगिएको छ।

यसबाहेक, राष्ट्रपति कार्यालयले यी व्यक्तिहरूलाई जेलमा स्थानान्तरण गर्दाका केही तस्बिरहरू पनि जारी गरेको छ।

उडान फिर्ता बोलाउन न्यायाधीशको आदेश, ट्रम्प प्रशासनले मानेन
जिल्ला न्यायाधीश जेम्स ई. बोसबर्गले शनिबार भेनेजुएलाका नागरिकहरूको देश निकालालाई अस्थायी रूपमा रोक्न आदेश जारी गरे।

तर त्यतिबेलासम्म दुईवटा विमानले उडिसकेको सरकारी वकिलहरूले बताए। उनीहरूका अनुसार यी दुईमध्ये एउटा एल साल्भाडोर र अर्को होन्डुरसको लागि उडेको थियो।

त्यसपछि न्यायाधीशले दुवै विमान फिर्ता बोलाउन आदेश पनि दिए। यद्यपि त्यसलाई आफ्नो लिखित आदेशमा भने समावेश गरेनन्। जसका कारण प्रशासनले यसलाई बेवास्ता गर्यो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रशासनले कुनै पनि अदालतको आदेशलाई बेवास्ता नगरेको दाबी गरिन्। उनले अदालतको आदेशलाई कानुनी रूपमा आधारहीन रहेको आरोप लगाउँदै आदेश जारी हुँदासम्म संदिग्धहरूलाई अमेरिकाबाट निकालिसकिएको बताइन्।

‘एलियन एनिमी एक्ट’ भनेको के हो?
१७९८ को ‘एलियन एनिमी एक्ट’ अमेरिकाको सबैभन्दा पुरानो युद्धकालीन कानून हो।

यसले राष्ट्रपतिलाई युद्धको समयमा कुनै पनि शत्रु विदेशीलाई हिरासतमा राख्ने, प्रतिबन्ध लगाउने वा निष्कासन गर्ने अधिकार दिन्छ।

यो कानून अमेरिकी कांग्रेसले जुलाई ६, १७९८ मा पारित गरेको थियो। यसलाई ‘विदेशी र राजद्रोह ऐन’ भनिने चार कानूनहरूको समूहको भाग मानिन्छ।

एल साल्भाडोरका जेलहरूमा अपराधीहरूलाई राख्न सम्झौता
दोस्रो पटक पदभार ग्रहण गरेपछि, ट्रम्पले एल साल्भाडोरसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा अमेरिकाबाट आएका हिंसात्मक अपराधी र अवैध आप्रवासीहरूलाई त्यहाँका जेलहरूमा राखिनेछ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई यो प्रस्ताव गरेका थिए। जसलाई अमेरिकाले तुरुन्तै स्वीकार गरेको थियो।

मार्को रुबियोले बुकेलेको प्रस्तावको प्रशंसा गर्दै भनेका थिए, ‘अमेरिकामा गैरकानूनी रूपमा बसोबास गर्ने कुनै पनि अपराधी, मूल देश जुनसुकै भए पनि, एल साल्भाडोरको जेलमा राखिनेछ। यसअघि कुनै पनि देशले यस्तो प्रस्ताव गरेको थिएन। हामी यो सम्झौताबाट धेरै खुसी छौँ।’

जनवरी २०२३ मा एल साल्भाडोरमा एउटा जेल निर्माण गरिएको थियो। यसको नाम ‘आतंकवाद विरोधी नजरबन्द केन्द्र’ राखिएको थियो। यो संसारको सबैभन्दा ठूलो जेलमध्ये एक हो। यसमा ४० हजारभन्दा बढी कैदी राख्न सकिन्छ।

नायिब बुकेलेले अमेरिकाका खतरनाक कैदीहरूलाई कम शुल्क लिएर यस जेलमा राखिने बताएका छन्। यसबाट दुवै देशले फाइदा लिने उनको विश्वास छ।

चैत ४, २०८१ सोमबार १४:२३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।