कानुन पढाउने कलेजको कार्यकारी निर्देशक यौन दुर्व्यवहार आरोपको घेरामा, छानबिन समिति बनेकै दिन विवाद

काठमाडौं : पूर्वमहान्यायधीवक्ता तथा काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक युवराज संग्रौला पछिल्लो समय कानुनका जानकारभन्दा राजनीतिक ‘नेता’ का रुपमा बढी सक्रिय देखिन्थे। मिडिया, सामाजिक सञ्जालहरूमा हरेक राजनीतिक गतिविधिमाथि प्रश्न उठाउन सक्रिय थिए।
केएसएलमार्फत प्राध्यापनमा समेत सक्रिय रहेका उनी महान्यायाधिवक्ता जस्तो सम्मानित पदसम्म पुगे पनि अन्तमा उनीमाथि उनी नै कार्यकारी निर्देशक रहेको कलेजका विध्यार्थीहरुले गम्भीर आरोप लगाए-यौन दुर्व्यवहार।
कलेजमा अध्ययनरत एक विद्यार्थीले सामाजिक सञ्जाल इन्टाग्रामबाट कलेजमा हुने गरेका यौन दुर्व्यवहारका घटना भन्दै सार्वजनिक गरेको विवरणपछि कलेजका केही पूर्व विद्यार्थी र अध्ययनरत विध्यार्थीहरु नै ती छात्राको समर्थनमा उत्रिए।
कलेज प्रशासनमा निवेदन दर्ता भएको तर छानबिन प्रक्रिया नै अगाडि नबढाएको खुल्यो। कक्षा कोठामा एक विद्यार्थीले सङ्ग्रौलाको टाउको मसाज गरेको तस्बिर समेत बाहिरिएपछि कलेज प्रशासन दबाबमा आयो र आइतबार छानबिन समिति गठन गर्यो।
आइतबार कलेजले पत्रकार सम्मेलनमार्फत कलेज व्यवस्थापन समितिको आकस्मिक बैठकले पूर्व जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको नेतृत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको स्वतन्त्र छानबिन समिति गठन गरेको जानकारी सार्वजनिक गर्यो।
समितिमा रहेकाहरूको नाम सार्वजनिक भए लगत्तै छानबिनको निष्पक्षतामाथि प्रश्न उठे। मुख्य रूपमा विवादमा तानिइन् समिति सदस्य धामी।
सङ्ग्रौलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले सङ्ग्रौलाको समर्थन गर्दै सामाजिक सञ्जालमा लेखेको विवरणको स्क्रिन सट बाहिरियो।
उनले शनिवार सामाजिक सञ्जालमा कलेजलाई प्राज्ञिक संस्था तथा सङ्ग्रौलालाई ‘श्रद्धेय गुरु डा. युवराज सङ्ग्रौला’ भनेर सम्बोधन गर्दै उनलाई लगाइएको आरोपलाई अशोभनीय लेखेको स्क्रिन सट सार्वजनिक भयो।
धामीले स्टाटसमा ‘गुरु युवराज सङ्ग्रौलाको निस्वार्थ सेवा, अथक परिश्रम अनि लगनशीलताको प्रतिफल हामीले आर्जन गरेको पेसागत सफलता हो’ समेत लेखेको सार्वजनिक भएको सक्रिनसटमा देखिन्छ।
अहिले उनको सामाजिक सञ्जालमा सो स्टाटस छैन। सार्वजनिक भएको स्टाटस धामीले सार्वजनिक गरे लगत्तै केही विध्यार्थीहरुले सक्रिनसट लिएर राखेको दाबी गरियो। लगत्तै छानबिन समितिको निष्पक्षमाथि गम्भीर प्रश्न उठ्यो। समितिले कामै सुरु नगरी विवादित बन्यो।
सङ्ग्रौलामाथिको आरोप के हो?
काठमाडौं विश्वविद्यालय अन्तर्गतको केएसएलमा कार्यकारी निर्देशक रहेका सङ्ग्रौलामाथि लागेका आरोपहरू निकै गम्भीर छन्।
उनीमाथि सोही कलेजका छात्राले सामाजिक सञ्जालमार्फत छात्राहरूसँग अनावश्यक यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने, विद्यार्थीहरूलाई ब्याक मसाज गर्न बाध्य बनाउने, महिलाको भविष्यका बच्चाहरूको आकारबारे अपमानजनक टिप्पणी गर्ने, यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको अधिकारको समर्थन गर्ने विद्यार्थीहरूलाई निष्कासन गर्ने धम्की दिने र अपमानजनक, लज्जास्पद र घिनलाग्दा टिप्पणीहरू गर्ने आरोपहरू लाग्यो।
एक छात्राले गत २०२४ डिसेम्बर १२ मा कलेज प्रशासनमा औपचारिक उजुरी दिएको खुल्यो। उजुरीमाथि कुनै सुनुवाइ नभएपछि यी आरोपहरू सामाजिक सञ्जालबाट सार्वजनिक भए।
अनि विद्यार्थी एकजुट भए
सङ्ग्रौलामाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि केएसएलका एक सय विद्यार्थीले शुक्रवार साँझ संयुक्त वक्तव्य जारी गर्दै स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरे।
‘कानुनका विद्यालयहरूका लागि सत्य निष्ठा सिद्धान्त हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जब यी संस्थाहरूभित्र दुर्व्यवहार, अपमानजनक टिप्पणीहरू, यौन दुर्व्यवहार, भेदभाव, र प्रणालीगत दबाब निरन्तर रहन्छन्, तब तिनीहरूले आफ्नो मौलिक उद्देश्यलाई धोका दिन्छन्।’
पीडित विद्यार्थीको पोस्टपछि सामाजिक सञ्जालमा ‘मी टु’ ह्यासट्यागमा कलेजमा हुने गरेको यौन दुर्व्यवहारका घटना भन्दै अन्यको अनुभवहरू पनि सार्वजनिक हुन थाल्यो।
स्वास्थ्य र प्रतिस्पर्धी कलेजलाई आरोप
आइतबार पत्रकार सम्मेलनमा सङ्ग्रौला आफू समेत उपस्थित भए। छानबिन समिति गठनको निर्णय भएकै दिन उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै कक्षामा मसाज गराउनुको कारण आफ्नो स्वास्थ्य समस्या रहेको र आफूमाथि लागेको आरोपमा प्रतिस्पर्धी कलेजका व्यक्तिहरूको भूमिका रहेको दाबी गरे।
उनले स्वास्थ्य समस्याका कारण आफू कक्षामा बेहोस हुने गरेको टाउकोमा पीडा हुँदा नर्सहरूले अलिकति टाउको समातेर थिचेपछि निको हुन्छ भनेको दाबी गरे।
सार्वजनिक भएको तस्बिरमा औँलाले थिचिरहेको देखिए पनि त्यहाँ रहेको अर्को मान्छेलाई नदेखाएर बदनियतपूर्वक सार्वजनिक गरेको तर्क गरे। उनले आफूमाथि लागेको गम्भीर आरोपमा प्रतिस्पर्धी कलेजहरूको हात रहेको दाबीसम्म गरे। अनि सामाजिक सञ्जालमा व्यक्तिगत आरोप लगाउँदा परिवारलाई मानसिक यातना भएको दाबी गरेका थिए।
चैत ३, २०८१ आइतबार २३:३९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।