भ्रष्टाचारबाट कमाएको सम्पत्ति सरकारको नाममा ल्याउन बल्ल निर्णय गर्‍यो गृहले

भ्रष्टाचारबाट कमाएको सम्पत्ति सरकारको नाममा ल्याउन बल्ल निर्णय गर्‍यो गृहले

काठमाडौं : भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएसँगै सम्पत्ति जफतको फैसला भए पनि व्यक्तिले नै उपभोग गरिरहेका सम्पत्ति सरकारको नाममा ल्याउने निर्णय भएको छ।

सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा ब्यक्तिकै नाममा थियो। आइतबार बल्ल गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका हुन्।

अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि दोषी ठहरिएकाहरूले नै प्रयोग गर्दै आएका थिए। सरकारले ती सम्पत्ति सरकारको नाममा ल्याउन चासो नै दिएको थिएन।

भ्रष्ट ठहरिएर जफतको फैसला भएको सम्पत्ति दोषीले नै प्रयोग गरिरहेको सार्वजनिक भयो।

कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज गर्नुपर्छ।

तर सरकारले त्यता चासो देखाएन। बल्ल आइतबार गृहले कसुर स्थापित भएकाहरूको नाममा रहेको सम्पत्तिको दाखिला खारेज गरेर सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार पूर्व प्रशासक, कर्मचारी तथा तीनका परिवारका सदस्यको नाममा रहेका सम्पत्ति अब सरकारको नाममा आउने छ।

तिनीहरूमा आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदी छन्। आपराधिक गतिविधिबाट आर्जित सरिता गिरी राई (भारतीय नागरिक) को नेपालमा रहेको सम्पत्ति समेत सरकारको हुनेछ।

चैत ३, २०८१ आइतबार २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।