अधिकृत प्रज्ञाको प्रसव पीडा र खुसी : छोरी जन्माउन चाइनिज क्यालेन्डर हेरेर प्लान गरेको, तर छोरा भयो

२०७४ देखि निजामती सेवामा होमिएकी अधिकृत प्रज्ञा ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छिन्। अध्यागमन विभाग, शिक्षक सेवा आयोग र निजामती कर्मचारी अस्पतालमा काम गरेको समेत उनको अनुभव छ उनीसँग।
अहिले उनी संघिय मामिला महाशाखा अन्तर्गतको संघिय मामिला शाखाकी शाखा अधिकृत हुन्। यो शाखाले स्थानीय तह र संघिय तह बीचका सम्बन्धहरूलाई स्थापित गर्ने काम गर्छ।
आर्किटेक्चर इन्जिनियर भएर काम गरिरहेकी उनी निजामती क्षेत्रमा प्रवेश गर्ने कुनै योजना थिएन रे। ख्वप इन्जिनियर कलेजमा पढेकी उनले भवन विभाग र एउटा कन्सल्टेन्सीमा 'आर्किटेक्ट' भएर काम गरिन्। सन्तान भएपछि भने उनी सरकारी क्षेत्रमा आइन्।
उनको पारिवारिक पृष्ठभूमि निजामती नै हो। उनको आमा र बा दुवै सेवा निवृत्त सरकारी कर्मचारी हुन् । माइतीमै बसेर लोक सेवाको तयारी गरेर एकै पटक 'अफिसर'भएर घर फर्किएकी थिइन् उनी।
उनी दुई सन्तानकी आमा समेत हुन्। एक सन्तान २०७२ सालको भूकम्पको समयमा र अर्को सन्तान कोभिड-१९ महामारीमा जन्माउँदाको त्रासमै रहिन्। उनै प्रज्ञाले उकेराको स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
मेरो बाबाको पुर्ख्यौली घर झापा भए पनि म काठमाडौँमै जन्मिएँ, यतै हुर्किएँ। म र मेरो एउटा भाइ छौँ। म इन्जिनियर तर्फ लागेँ। भाइ चिकित्सातर्फ। हाम्रो ममी-बाबा दुवै निजामती सेवाबाट 'रिटायर'भइसक्नु भयो।
पढाइ सकेर भर्खर काम गर्न थालेकी थिएँ। पढाइ सक्नु अघि छोरीको बिहे गर्ने भनेर कसैले सोच्नु भएन। त्यही भएर मलाई विवाहको त्यति धेरै दबाब भएन। बिहेको कुरा धेरै ठाउँबाट आए पनि परिवारले दबाब दिएनन्। मैले जुन केटालाई पहिलो पटक भेटे उसैसँग विवाह भयो।
त्यो बेलामा मलाई हेर्न केटा आउँदै छ भनेर थाहा थिएन। मेरो श्रीमान् मेकानिकल इन्जिनियर हुनुहुन्छ। बिहे गर्नुभन्दा अगाडि उहाँको पहिलो सर्त नै इन्जिनियर केटी बिहे नगर्ने भन्ने रहेछ। विवाहका लागि तीन जना केटीहरूको नाम पुगेको रहेछ। म तेस्रो नम्बरमा थिए रे।
अरू दुई जनाको भेट्ने समय नमिलेपछि म पहिलोमा परेको रहेछु। घर भित्र छिर्ने बित्तिकै मेरो सानो बुवासँग उहाँको भेट भएछ। हाकिमको छोरीसँग बिहे नगर्ने भन्ने मनसाय बनाउनु भएछ।
उहाँले बिहे नगर्ने भनेर सुरुमा अडान लिनु भएछ। तर मेरो ससुरा बुवाले मलाई मन पराउनु भयो। छोराले नमान्दै बुवाले बिहे पक्का गर्दिनु भयो। एक पटक कुरा गरेर हेर्छु भनेपछि हाम्रो भेट भयो। बानेश्वरको एउटा क्याफेमा बसेर घन्टौँ गफ गर्यौँ।
उहाँले आफ्नो बारेमा धेरै कुरा भन्नुभयो। पहिलो भेटमै यति धेरै कुरा गरेकाले केटा इमानदार लाग्यो। विवाह भयो।
विवाहपछि आफ्नो जीवनमा त्यति धेरै फरक पाइन। तर सन्तान भएपछि चैँ अलि गाह्रो हुने रहेछ। सासू-ससुरा प्राय दाङको घरमै बस्नुहुन्थ्यो। यहाँ हामी दुई जना मात्र भयौँ। हाम्रो दुई छोरा छन्। दुवै सन्तान योजना बनाएरै जन्माएका हौँ। संयोग, दुवै सन्तान जन्माउँदा समय भने सहज भएन।
बिहे भएको तीन वर्षपछि हामीले पहिलो सन्तानको तयारी गरेका हौँ । त्यो बिचमा एक अर्कालाई चिन्न, बुझ्न र राम्रो समय दिन सक्यौँ। तर अब चैँ बेबीको प्लान गर्ने भन्ने बित्तिकै गर्भ रहेन।
हरेक पटक महिनावारी हुँदा म रुन्थेँ। के कारणले ‘कन्सिभ’ भएन, थाहै भएन। तर चार महिना पछि कन्सिभ हुँदा हामी दुवैजना खुसीले रोएका थियौँ। नत्र बिचमा त मलाई मेरो बेबी नै हुँदैन कि! भन्ने डर लागिसकेको थियो।
गर्भवती भएको खबर पाएपछि अरूलाई भन्न सकिन। भाइलाई मेसेजमा ‘त मामा बन्दै छस्’ भनेर पठाएँ। उसले मलाई ‘दङ्ग कि झसङ्ग’ भनेर मेसेज फर्कायो। मैले दङ्ग लेखेर फेरि पठाएँ। अनि उसले ममीलाई भनेछ। केही बेरमा ममीले फोन गर्नुभयो। यता घरमा हामी दुवैले भन्यौँ। एकदम खुसीको माहौल थियो।
सातौँ हप्तासम्म एकदम ठिक थियो। तर सातौँ हप्तामा काकडभित्ता जानुपर्ने भयो। डाक्टरकै सल्लाहमा यात्रा गर्यौँ। तीन/चार दिन राम्रैसँग बसियो। फर्किने बेला एक्कासी रगत बग्न थाल्यो। म त आत्तिएँ। मेरो त गर्भपात नै भयो भन्ने लागेको थियो।
तत्काल डाक्टरसँग कुरा गर्यौँ। मैले मेरो भाइलाई पनि भनेँ। डाक्टरले केही हलचल नगर्नु, पुरै बेडरेस्ट गर्नु भन्नुभयो। दुई दिन लगातार सुतेरै बसेँ। प्लेनमा पनि सुतेरै आएको हो। यहाँ आउने बित्तिकै टिचिङ हस्पिटल गयौँ। अल्ट्रासाउन्ड गरेर हेर्दा बेबी पुरै स्वस्थ देखियो।
डाक्टरले श्रीमानलाई यस्तो केस अहिलेसम्म देखेको छैन, यो केस बच्चा बच्ने केस नै होइन भन्नुभएको थियो रे। त्यो तीन/चार दिन त म मानसिक रूपमा निकै विक्षिप्त भएकी थिएँ। गर्भपात भएको कुरा कसरी सुन्ने? यो ‘फेस’ गर्नैपर्छ, म बलियो हुनुपर्छ भन्ने सोचेको थिएँ।
त्यसपछि डेढ महिना म पूरै बेडरेस्टमै बसेँ। त्यो बेला पनि रगत बग्ने बन्द भएको थिएन। पछि मलाई पुरै टोल नै गन्हाउन थाल्यो। केही खाना रुचेन। साढे पाँच महिनाको गर्भवती हुँदा म ११ किलो घटेको थिएँ। मलाई बचाएकै काँक्रो, गाजर र मुलाले हो।
बान्ता गरेको गर्यै भएपछि पेटमा दबाब परेर झन् धेरै रगत जान्थ्यो। बान्ता रोक्ने औषधि खाँदा पनि दिनको १२/१५ पटक बान्ता हुन्थ्यो। त्यै भएर मैले तुलनात्मक रूपमा पहिलो गर्भावस्थामा बढी गाह्रो महसुस गरेँ। मलाई बाहिर गाह्रो भए पनि भित्र बाबु भनेँ पुरै स्वस्थ थियो।
त्यसबेला बल्ल ‘फोर डी इमेज’हेर्ने प्रविधि आएको रहेछ। रगत बगेर पूरै गाह्रो भएको बेला बाबु त औँला चुसेर मजाले बसिरहेको देखेँ।
२०७२ को भूकम्प आउँदा म पाँच महिनाको गर्भवती थिएँ । वैशाख १२ गते भूकम्प आउने बेलामा दिज्जु र म न्युरोड घुम्न गएका थियौँ। भुईँचालोले हल्लाउँदा म मात्र छैन, मेरो बच्चालाई मैले बचाउनु पर्छ भन्ने अनुभव गरेकी थिएँ।
भूकम्पको समयमा गर्भवती महिला भुँइमा बस्नु हुँदैन भन्ने रहेछ। तर म त उठ्न गाह्रो भएर बसी नै रहेकी थिएँ। त्यो बेला गर्भवती महिलाहरूको गर्भपात भएको समाचारहरू आउँथ्यो। म मानसिक रूपमा निकै डिस्टर्ब हुन्थेँ।
भाइले ‘नर्मल गर्भावस्था होइन। सधैँ कम्प्लिकेडेट हो तर नआत्तिनु’ भनेर सान्त्वना दिन्थ्यो। वैशाखपछि त धेरै धक्का आयो। डरको माहौल भइ नै रह्यो।
भदौ १३ गते बिहान पाँच बजेतिर एकदम दुखाई भयो। दिमागमा फेरि ‘वाटर ब्रेक’ भएपछि मात्र हस्पिटल जाने हो भन्ने थियो। त्यही भएर जति दुखे पनि सहेरै बसेँ। मध्यरात धरै गाह्रो भयो। अनि बुढाबुढी टिचिङ हस्पिटल गयौँ। जम्मा दुई घर खुलेको भनेर भर्ना लिनै मानेन। अनि घर फर्किन पर्यो।
बिहान आठ बजे फेरि हस्पिटल पुग्यौँ। तीन घर खुलेको भनेर बल्ल भर्ना गर्यो। श्रीमानसँग छुट्टिएर ‘लेभर रुम’को ढोकाभित्र छिर्दा त अब म मर्छु, यो बुढो र मेरो अन्तिम भेट हो भन्ने मनमा आयो।
‘वाटर ब्रेक’भएकै थिएन। डाक्टरहरूको एक हुल आएर मलाई ‘डमी’ बनाएर हेर्न थाले। व्यथा लाग्ने औषधि खुवाए पनि केही भइरहेको थिएन। उनीहरूले सिजरले नै ‘वाटर ब्रेक’गराए। यति धेरै रिस उठेको थियो। गाह्रो भएको थियो। घर नखुलेपछि उनीहरूले हातले नै फेरि घर खुलाए।
त्यो बेलामा त म मरेँ भन्ने लागेको थियो। श्रीमान् फेरि अहिले हुँदैन भनेर खाना खान जानुभएको रहेछ। त्यहिबेलामा बाबु भयो। बाबु पूरै स्वस्थ जन्मियो तर प्रेसर लो भएर म त्यति बेहोस भएँ। अहिले सम्झँदा लगभग ३६ घण्टाको दुखाइ कसरी सहेँ होला भन्ने लाग्छ।
‘कन्फ्युजन’भयो कि के भयो, बाबुको घाँटीमा ‘प्लेसेन्टा’ बेरिएको भनेर जन्मिए लगत्तै च्याप्प समाएर ‘प्लेसेन्टा’ काटेर पानीमा डुबाई हाल्यो। मलाई चैँ यता ‘स्टिज’ गरिरहेका थिए। उता बाबुलाई पानीमा डुबाए। म बाबुलाई एकोहोरो हेरिरहेकी थिएँ। यो मेरै बच्चा हो र! मैले नै पाएको हो र ! भन्ने लागेको थियो मनमा।
त्यो साँच्चै एकदम म्याजिकल मुमेन्ट थियो। उसलाई पहिलो पटक समाउँदा त मुटु नै हातमा आएको जस्तो अनुभव भएको थियो। संसार नै यही हो भन्ने खालको भाव आउने रहेछ।
बाबुलाई ज्वरो आएर चार दिनसम्म हस्पिटल बस्नु पर्यो। स्तनपानमा सुरूमा केही अप्ठ्यारो भएको जस्तो भएको थियो। पछि सहज भयो।
बच्चा दिनभर सुत्ने, रातभर रुने। रुने पनि फेरि एकछिन हो र! रोएको रोयै गर्दिने। बिहान भएपछि फेरि मस्त निदाउने। राति बाबु रुँदा म पनि उ सँगसँगै रुन्थेँ। त्यही भएर म न्वारनको भोलिपल्टै माइती गएँ।
ममीले पनि टन्न छुट्टी लिनुभएको थियो। तर, सुत्केरी समयभरि भूकम्पको कारण घरभित्र र बाहिर गएरै दिन बित्थ्यो। बाबु एक वर्षको भएपछि मैले निजामतीको लागि पढ्न सुरू गरेँ। दिउँसो बाबुसँग बस्थे। रातभर पढेर बस्थेँ।
डेडिकेसन पनि राम्रै चाहिने रहेछ। तर, परिवारको साथ अनि समय मिलाउन सक्यो भने नहुने केही छैन।
अर्को पाँच वर्षपछि हामीले दोस्रो सन्तानको तयारी गर्यौँ। ठ्याक्क कोभिड सुरू हुँदा म सात महिनाको गर्भवती थिएँ। ठूलो बाबुलाई उसको बाबाले एकदम धेरै माया गरेर पुलपुल्याउने। म फेरि अलि कडा।
भोलि हामीलाई केही भयो भने यसको को हुन्छ त भन्ने कुरा हुन्थ्यो। सहयोगका लागि पनि दुई सन्तान चाहिन्छ भन्ने भयो। एउटा मात्र सन्तान हुँदा ऊ धेरै सामाजिक हुन नसक्ला कि भन्ने पनि थियो अनि हामीले दोस्रो सन्तानको तयारी गर्यौँ। तयारी गरेको पहिलो पटकमै गर्भ रह्यो।
पहिलोमा जस्तो त्यो बेला मलाई धेरै गाह्रो भएन। खाना पनि मजाले रुच्यो। पहिलोमा केही थाहा भए । सबै अरे'को भरमै भयो। प्रसवको पीडाको अनुभवले होला दोस्रोमा डर लागेको थियो।
बच्चा हुर्काउन श्रीमानको राम्रो साथ पाएँ। श्रीमानले नै उनीहरूलाई हुर्काएको हो। निजामतिमा छिरेपछि बाबु मसँग भन्दा उसको बाबासँग नजिक भयो। श्रीमान् प्राय घरबाटै काम गर्नुहुन्थ्यो। त्यही भएर उहाँले बाबुहरूलाई समय दिन पाउनुभयो।
बच्चाहरू सानो हुँदा चैँ उहाँ पनि हेर्न पनि डराउने। आफैँ हिँड्ने, कुद्ने भएपछि उहाँले नै सम्हाल्नुभएको हो। अहिले पनि उहाँ १५ दिन काठमाडौं १५ दिन दाङ बस्नुहुन्छ। काठमाडौंमा बस्नुभएको बेला मैले मेरो बच्चाहरूको चिन्ता नै लिनु पर्दैन। यति भएपछि मैले पनि काममा फोकस गर्न सकेँ।
कोभिडको समयमा त धेरै समय घरमा बस्न पाइयो। मजाले आराम पनि पाइयो। दोस्रो बाबु जन्मिनुभन्दा अगाडि उ उल्टो बसेको छ भनेर थाहा भयो। अप्रेसन गर्नुपर्छ भनेर तयारी पनि गरिसकेका थियौँ।
तर ‘वाटर ब्रेक’भएपछि आफैँ सिधा भएछ। अनि अप्रेसन गर्नु परेन। मलाई चैँ अप्रेसन गर्ने भन्दा पनि अप्रेसन गरिसके पछि मैले भोग्न पर्ने पीडाको बारेमा सोचेर डर लागेको थियो। दोस्रो सन्तान नानी होस् भन्ने लागेको थियो। चाइनिज क्यालेन्डर हेरेर प्लान गरेका पनि हौँ।
तर, बच्चा देखेपछि छोराछोरी मतलब नै भएन। लकडाउन पूरै खुल्दा बाबु १७ महिनाको भइसकेको थियो। अफिसबाट पनि मलाई धेरै सहयोग मिल्यो।
दोस्रो सन्तानपछि सबैको ध्यान उसैमा हुँदा पहिलोलाई मानसिक प्रभाव पर्छ भन्ने सुनेको थिएँ। त्यसैले पहिलो सन्तानलाई पनि उत्तिकै समय दिएँ। अहिले उनीहरू सँगै खेल्छन्, झगडा पनि गर्छन्। तर दुवै दाजुभाइ छुट्टिनै मान्दैनन्। उनीहरूको अहिलेको सम्बन्ध देखेर दुइटा सन्तान जन्माएर ठिक निर्णय गर्यौँ भन्ने लाग्छ।
चैत ३, २०८१ आइतबार २१:३९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।